Techie IT
बिहीबार, वैशाख १७,२०८३

बाढी पहिरो पीडितलाई प्रवासीको सहयोग


अछाम । सुदूरपश्चिमी नेपाली समाज जापान र भारतले अछामका बाढीपहिरो पीडितहरूलाई आर्थिक सहयोग गरेको छ ।

भाद्र ३१ गते कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकाका बाढी पहिरोबाट मृत्यु भएका परिवार र आफन्तलाई आर्थिक सहयोग गरेको हो  ।

सुदूरपश्चिमी नेपाली समाज जापानका उपाध्यक्ष टक्कर कुँवर र सुदूरपश्चिमी नेपाली समाज भारतको पूना अध्यक्ष समशेर बोगटीले बाढी–पहिरो पीडित बसोबास गर्दै आएको स्थानमा पुगेर सहयोग गर्नुभएको छ ।

सुदूरपश्चिमी नेपाली समाज जापान र भारतले मृतक २६ जनाका परिवारलाई १०÷१० हजारका दरले २ लाख ६० हजार सहयोग गरिएको सुदूरपश्चिमी नेपाली समाजका जापान उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

यस्तै बाढी–पहिरो पीडितबाट विस्थापित भएकालाई २० हजार रुपैयाँ सहयोग गरिएको छ ।

सुदूरपश्चिमी नेपाली समाज जापानका उपाध्यक्ष कुँवर र सुदूरपश्चिमी नेपाली समाज भारतको पूना अध्यक्ष वोगटीले तुर्माखाँद गाउँपालिका वडा नं.५ नाडाका पाँच जना परिवार गुमाएका रिठे शाहीलाई ५० हजार, बाबुआमा र बहिनी गुमाएका रुपेन्द्र शाहीलाई ३० हजार र छोरी गुमाएका मिनबहादुर शाहीलाई १० हजार आर्थिक सहयोग गर्नुभएको छ ।

यस्तै, कमलबजार नगरपालिका वडा नं. ६ विपरथका ३ छोरी गुमाएका इन्द्रसिंह कामीलाई ३० हजार र श्रीमती, बुहारी र दुई छोरी गुमाएका नम कामीलाई ४० हजार सहयोग गरिएको उपाध्यक्ष कुँवरको भनाई छ ।

यस्तै कमलबजार नगरपालिका वडा नं. ८ ढाँकुका पाँच जना आफन्त गुमाएका मोती देवि दमाईलाई ५० हजार आर्थिक सहयोग गरिएको भारत पूनाका अध्यक्ष वोगटीले बताउनुभयो ।

यस्तै, ढकारी गाउँपालिकामा बाढी–पहिरोबाट ज्यान गुमाएका दुई जना र साउन महिनामा बाढी–पहिरोबाट ज्यान गुमाएका तुर्माखाँद–२ का परिवारलाई १०–१० हजारका दरले ५० हजार रुपैयाँ वडा नम्बर ८ का अध्यक्ष निरक शाहीलाई हस्तान्तरण गरिएको छ ।

प्राकृतिक विपत्तिबाट पीडित परिवारलाई राहत होस् भन्ने उद्देश्यले सङ्कलन भएको रकम पीडित परिवारको हातमै उपलब्ध गराएको उपाध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

विपत्ति परेकालाई घरमै आएर गरिएको आर्थिक सहयोगले पूर्नस्थापनामा सहयोग भएको बाढी–पहिरोबाट पाँच जना परिवार गुमाएका रिठे शाहीको भनाई रहेको छ ।

उहाँले अस्थायी रुपमा त्रिपालमा बसोबास गर्दै आएकाले घर निर्माणको लागि आर्थिक सहयोगको आवश्यक रहेको बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिका वडा नं. ६ का अध्यक्ष लाल बहादुर शाह, वडा नं. ८ का अध्यक्ष प्रर्जा बहादुर बोगटी, तुर्माखाँद गाउँपालिका वडा नं.८ का अध्यक्ष निरक शाही, नेकपा एमालेका तुर्माखाँद गाउँपालिका इन्चार्ज नरेश शाही, समाजसेवी रङ्ग ठकुल्ला, अछाम क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार चन्द प्रसाद ढुङ्गाना, नेपाल पत्रकार महासङ्घका  सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #बाढी पहिरो पीडितलाई प्रवासीको सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्