चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण थप एकजनाको मृत्यु

चितवन । चितवन जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एकजनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघि नै मृत्यु भएको ढिला गरी थाहा भएको हो ।
स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन् । चापागाईका अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो ।
पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गते नै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमूना भरतपुरको नारायणी सामुदायिक अस्पतालबाट पठाइएको उल्लेख छ ।
अस्पतालको रेकर्डमा भने ती बिरामीको नाम नभएको कार्यालय प्रमुख चापागाईले बताए । थप विवरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उनले जानकारी दिए । विस्तृत विवरण महानगरमार्फत आउने उनको भनाइ छ ।
जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । उनका अनुसार सङ्क्रमित एक जना थपिएका छन् । पछिल्लो थपिएका सङ्क्रमित माडीका हुन् । माडी नगरपालिका वडा नम्बर ४ का ७४ वर्षीय वृद्धमा सङ्क्रमण देखिएको हो । बिरामीको बारेमा थप विवरणका लागि माडी नगरपालिकाको स्वास्थ्य शाखालाई भनिएको छ ।
सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । चापागाईले भने, “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।”
सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका हुन् भने त्यस पछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा तीन हजारमा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको चापागाईको भनाइ छ ।
जापानिज इन्सेफ्लाइटिस सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने लक्षण देखिन्छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण थप एकजनाको मृत्यु, #जापनिज इन्सेफ्लाइटिस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्