Techie IT
मंगलबार, असार १७,२०८२

विभाजनको सँघारमा विवेकशील साझा


विवेकशील साझा पार्टी विभाजनको सँघारमा पुगेको छ । पार्टीमा मतभेद चर्किएपछि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् । बैठकका एजेन्डामा कुरा नमिलेपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबार बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका छन् । बैठक भर्चुअल रूपमा हुनेछ ।

मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल पठाउँदै संयोजक पाण्डेले अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको कारण एजेण्डामा सहमति जुट्न नसकेको कारणले लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै बैठक बोलाएको बताएका छन् ।

पार्टी विधानको दफा २०(१०) अनुसार केन्द्रीय अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने र एजेन्डा तय गर्ने गरिएकोमा यसपटक त्यो प्रयास सफल हुन नसकेको भन्दै संयोजक पाण्डेले पनि इमेल गरेर बैठक बोलाएका छन् ।

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले अध्यक्ष मिश्रले बिहीबार साढे १२ बजेका लागि बैठक बोलाएको बताए । ‘मनोगत रूपमा कतिपय एजेन्डा राखेर बिहीबारकै मिति राखेर केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । संयोजकलाई बैठक सञ्चालन गर्न अधिकार छ तर बैठक बोलाउने अधिकार छैन,’ प्रवक्ता पाठकले भने ।

विवेकशील साझा पार्टीमा पछिल्लो पटक अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहसहितको विचार अगाडि सारेका थिए । त्यसको केही समयपछि संयोजक पाण्डे, नेताहरू नेता रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पंगेनीले अर्को प्रस्ताव छलफलका लागि ल्याएका थिए ।

गत वर्ष मंसिर २४ गते विवेकशील र साझा पार्टीबीच एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो ।

सो पार्टी भएको दोस्रो विभाजन हुन लागेको हो । यसअघि सो पार्टी २०७५ पुस २७ मा विभाजित भएको थियो । पहिलो पटक २०७४ साउन ३ पहिलो पटक एकीकरण भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विवेकशील साझा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:10 am7:04 pm +0545