प्रदेश नं ५ : समुदायमा बढ्दै कोरोना सङ्क्रमण
प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ सङ्क्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना सङ्क्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक जना र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमितको अवस्था सामान्य छ । सङ्क्रमण बढेसँगै आलोपालो प्रशासनिक सेवा कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ ।
साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले राससलाई जानकारी दिनुभयो । प्रजिअ पन्थकाअनुसार आइतबार सिद्धार्थ नगरपालिका, मर्चवारी गाउँपालिका र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइने छ । यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी सांस्कृतिक नगरपालिकावासीलाई सेवा दिइने छ । मङ्गलबार देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र कोटहीमाई गाउँपालिका तथा बुधबार बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइने छ ।
बिहीबार सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइने छ । आज मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तालिका बनाएको छ । यसैबीच आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन समितिको बैठकले बुटवलमा लकडाउन र अन्य ठाउँमा कडाइ गर्ने निर्णय गरेको छ । उक्त बैठकले धार्मिक क्रियाकलाप घरमै गर्ने, चाडपर्व घरमै मनाउने, शैक्षिक संस्था बन्द र सवारी पास वितरण बन्द गर्ने निर्णय गरेको हो । चार जना बैंकका कर्मचारीमा कोरोना बर्दियामा थप आठ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
चार जना बैंकका कर्मचारीसहित आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार बाँसगढी नगरपालिका–५ का तीन जना वडा नम्बर ८ का दुई जना र वीरेन्द्रनगर सुर्खेत घर भएका तीन जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये एकजना महिला र सुर्खेत घर भएका तीन जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो । योसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २७७ पुगेको छ । पाल्पामा पहिलो पटक समुदायमा कोरोना पाल्पामा पहिलो पटक समुदायमा कोरोना सङक्रमण देखिएको छ ।
तानसेन नगरपालिका–४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभाषमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । महिलासँगै रहेका श्रीमान्को भने रिपोर्ट नेगेटिभ आएको छ । बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पिसिआर परीक्षण गर्दा आज सङ्क्रमण भएको रिपोर्ट आएको हो । यहाँ सङ्क्रमितको सङ्ख्या ५६३ पुगेको छ भने ५६० जना कोरोना निको भएर घर फर्किएका छन् । –––
क्याटेगोरी : समाचार
ट्याग : #province 5 corona update
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्