कोरोनाले ७ प्रतिशत पत्रकारको गुम्यो रोजगारी
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताउनुभएको छ । नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उहाँले बताउनुभयो ।
कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासङ्घको मिसन टोली देशव्यापी रूपमा परिचालन भएको छ । सोही क्रममा यहाँ आइपुग्नुभएका आचार्यले आज कुराकानी गर्दै कोरोना सङ्क्रमणपछि पाँच वटा रेडियो बन्द भएको जानकारी दिनुभयो । बीस पत्रकारमा कोरोना सङ्क्रमण देखिएकोमा १८ जना सङ्क्रमणमुक्त भइसकेको उहाँले जानकारी दिनुभयो । लकडाउनको अवधिमा देशभरका ७०० छापा माध्यम बन्द भएको भन्दै उहाँले कोरोनाको प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताउनुभयो ।
“स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्र मोर्चामा रहेका छन्”, रोग नियन्त्रणका लागि जनतालाई शिक्षा र सूचना दिने काममा पत्रकार खटिइरहेको भन्दै उहाँले भन्नुभयो, “हामी आम जनताका समस्याका बारे बोलिरहेका छौँ भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौँ ।” यस्तो अवस्थामा सञ्चार क्षेत्र आफैँ अग्रपङ्क्तिमा रहँदा आफैँ प्रभावित हुनुपरेको उहाँको भनाइ थियो । आचार्यले दुईथरी सञ्चारकर्मी रहेको भन्दै एक थरीले स्वरोजगारमूलक ढङ्गले पत्रकारिता गरिरहेको र अर्को थरी ठूला सञ्चार गृहमा काम गरिरहेको बताउनुभयो ।
पचास प्रतिशतभन्दा बढी पत्रकार आफैँले अनलाइन, रेडियो, टेलिभिजन, पत्रिका चलाएको भन्दै उहाँले ती मिडिया चलाएका पत्रकारमा थोरै समस्या देखिए पनि ठूला मिडियामा धेरै समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला मिडियामा काम गर्ने कतिपय पत्रकारले तलब भत्ता नपाएको, कामबााट निष्कासित हुनुपरेको, आधा तलबमा काम गर्नुपरेको, ‘अहिलेलाई बिदामा बस्नुस् है’ भनिएको छ ।” यसबाट सदरमुकाममा बसेर काम गर्ने र वैकल्पिक पेशा नभएका प्रभावित भएको उहाँको भनाइ छ । पत्रकार विस्थापित हुनु भनेको धेरै ठूलो क्षति हो भन्दै उहाँले भन्नुभयो, “मिडिया बन्द हुनु र पत्रकार पलायन हुनु भनेको जनताको अधिकार, लोकतन्त्र, मानवअधिकार, विधिको शासनलाई वकालत गर्ने मानिस पलायन हुनु हो ।”
पत्रकारलाई पलायन हुनबाट रोक्न सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै उहाँले महासङ्घ र जिल्ला शाखाले आपतकालीन कोष खडा गरेको बताउनुभयो । यो विषम परिस्थितिमा राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आपतकालीन, अल्पकालीन र दीर्घकालीनरूपमा सम्बोधन गर्नुपर्छ ।” मिडियालाई व्यवस्थित बनाउन व्यावसायिक चरित्र अङ्गीकार गर्न राज्यले पहल गर्नुपर्ने उहाँको भनाइ छ । राज्यले मिडियालाई परेको समस्या र पेशागतरूपमा पत्रकारलाई परेको समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना भए नभएको अनुगमन गरेर पालना गराउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मिडिया हाउसलाई पनि सहुलियत पूर्ण ऋण दिनुप¥यो । सन्देशमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्न दिनुप¥यो ।
” नेपाल पत्रकार महासङ्घका अध्यक्ष आचार्य र महासचिव रमेश विष्टको टोली गण्डकी प्रदेशबाट प्रदेश नं १ सम्म र उपाध्यक्ष विपुल पोखरेलको टोली प्रदेश नं बाट ५ बाट सुदूरपश्चिम प्रदेशसम्म अनुगमनमा निस्किएको छ । टोलीले जिल्लाका पत्रकारसँग अहिलेको अवस्थाको बारेमा जानकारी लिँदै सरोकारवालासँग छलफल गरिरहेको छ ।
प्रदेश राजधानीमा कार्यक्रम गरी सरोकारवालालाई आफ्नो सुझावसमेत दिने गरेको छ । महासङ्घले दुई हजार भन्दा बढी पत्रकारलाई प्रत्यक्ष टेलिफोन गरी उनीहरुको अवस्थाको बारेमा सर्वेक्षण गरिरहेको महासचिव विष्टले जानकारी दिनुभयो । यस्तै शाखा अध्यक्षलाई २५ वटा प्रश्न पठाएर जवाफ माग्ने काम महासङ्घले गरिरहेको छ । –––
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महासङ्घ#
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्