कहीँ नभएको अचम्मको हाँडीगाउँको जात्रा’
काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको छ । यो जात्रा गत वर्ष कोरोना महामारीका कारण स्थगन गरिएको थियो । यस वर्ष भने महामारीको जोखिम कायमै रहे पनि सङ्क्रमणदर कम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको वडाध्यक्ष रमेश डङ्गोलले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको छ ।
तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उहाँले सुनाउनुभयो । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ ः एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताउनुभयो ।
जात्रा सुरु भएका सम्बन्धमा एउटा किंवदन्दी प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथै भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् । सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा प्राप्त भयो । गर्भ रहेको बाह्र वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञाबमोजिम तान्त्रिकहरु धिमेबाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए । मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण (तीननारायण) मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि सुरुआत भयो ।
मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाउनुभयो । नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पूजा गरिन्छ । यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ ।
क्याटेगोरी : पर्यटन, मनोरञ्जन/साहित्य
ट्याग : #हाँडीगाउँको जात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्