Techie IT
बिहीबार, फागुन १०,२०८०

ग्लोबल आइएमइलाई विश्वका ठूला र उत्कृष्ट बैंकको सूचीमा पुर्‍याउने चन्द्र ढकालको सपना, भन्छन्- अवसरमात्रै देख्छु


नेपाल बैंक देशको पहिलो बैंक हो । त्यसपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक खुल्यो । संयुक्त लगानीमा र निजी क्षेत्रले प्रवर्द्धन गरेका बैंकहरु आएको चाहिँ धेरै समय भएको छैन । तर, यो बीचमा अझ पछिल्लो २० वर्षलाई हेर्ने हो भने धेरै नयाँ बैंक तथा वित्तीय संस्थाहरु आए । त्यसपछि संस्थाहरु धेरै भए भनेर फेरि सरकार र राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिने नीति अघि सार्‍यो । जसकारण अहिले बैंक तथा वित्तीय संस्थाहरुको संख्या निकै कम भएको छ।

निजी क्षेत्रका बैंकहरु आएको समय र त्यसमा पनि पछिल्लो २० वर्षलाई हेर्ने हो भने नेपालको बैंकिङ क्षेत्रमा आमूल परिवर्तन भएको छ । सेवा र पहुँचका हिसाबले बैंकिङ क्षेत्रमा चामत्कारिक सुधार भएको छ । एकातिर डिजिटल बैंकिले सेवाको गुणस्तर र पहुँच बढाएको छ भने अर्कातिर सबै स्थानीय तहमा बैंकहरु पुगिसकेका छन् ।

म व्यवसायमा आउनुभन्दा पहिला राट्रिय वाणिज्य बैंकको जुनियर कर्मचारी थिएँ । मैले आफूले पढ्न, भाइबहिनीहरु पढाउन र आधारभूत आवश्यकताहरु पूरा गर्न बैंकमा जागिर खाएको थिएँ । बैंकको जागिर भन्नाले राम्रो र स्थायी जागिर भनिन्थ्यो । मेरो सिद्धान्त कामप्रति इमान्दार हिसाबले लगनशिल भएर काम गर्नुपर्छ भन्ने थियो ।

म १६ वर्ष हुँदा बुबा बित्नुभयो । परिवारको सबैभन्दा जेठो छोरा भएकाले भाइबहिनी, आमा र आफ्नो पनि शिक्षादेखि हेरचाहको जिम्मेवारी मेरै थियो । त्यसैले जागिर खानु मेरो बाध्यता थियो । कुनै पनि काम गर्दा लगनशिल हिसाबले र कामप्रति डेडिकेटेड भएर लाग्ने गरेको थिएँ । त्यतिबेला जुन ठाउँमा काम गर्थें, कम्प्युटरको प्रयोग भर्खर सुरुवात भएको थियो ।

राष्ट्र बैंकमा पठाउनु पर्ने तथ्यांकहरु पनि म्यानुअल्ली नै पठाउनुपर्ने भएकाले लामो समयदेखि म्यानुअल्ली काम भएरहेको थियो। धेरै कामहरु पेन्डिङमा रहन्थे । म चाहिँ काम गर्दाखेरि कार्यालय समयपछि पनि बसेर त्यी कामहरु सक्ने प्रयत्न गर्थें । यसले गर्दा मेरो काम गर्ने बानी सुरुदेखि नै बन्यो ।

कतिपय साथीहरुले जति काम गरे पनि तलब बराबर नै खाने हो भन्थे । बिहान साढे ९ वा १० बजे आएर क्यासमा बस्दा साढे ३ मा त काम सकिन्थ्यो । काम आखिर अरु साथीले पनि त्यहि नै गर्थे । तर, तिमी किन यसरी काम गर्छौं, तलब त्यहि नै खाने हो भनेर कतिपयले मलाई भन्थे । तर, म काम गर्नुपर्छ, संस्थाप्रति इमान्दार भएर काम गर्नुपर्छ भन्थें ।

कर्मचारीले इमान्दार भएर काम गरेमा नै त्यो संस्थाको परफर्मेन्स देखिने हो । केन्द्रीय बैंकमा पठाउनु पर्ने तथ्यांक वा रिपोर्ट गर्नुपर्ने कुराहरु समयमा कर्मचारीले सकेन भने पठाउन सकिँदैन भन्ने थियो ।

मेरो त्यस्तो बानी थियो ।

हामी बैंकिङमा आएको कुरा गर्दा त्यो बेला नेपालबाट मलेसिया धेरै मान्छेहरु गएको समय थियो । सन् २००१ को कुरा हो यो । धेरै मान्छे गए पनि त्यहाँबाट पैसा पठाउने मेकानिजम सहज थिएन । बैंकिङ च्यानल त थियो । तर, सबैका लागि यो प्रक्रिया सहज थिएन ।

गाउँबाट विदेश काम गर्न जानेहरुका लागि बैंकको नाम वा शाखाहरुको कुराहरु अलिक अफ्ठ्यारो थियो । बैंकमा पैसा पठाउँदा वर्षौंसम्म वा महिनौंसम्म पैसा अड्किन्थ्यो । नाममा अलिकति अक्षर बिग्रिए खातामा जम्मा नै नहुने हुन्थ्यो । पैसा लामो समयसम्म पेन्डिङमा रहने र खातामा जम्मा नहुने भएको गुनासो मलेसियाको बैंकहरुले गरिरहेको अवस्था थियो । घरका मान्छेले पैसा नपाएको अवस्था थियो । त्यत्तिबेलै अनौपचारिक च्यानल हुन्डीको काम गर्ने मान्छेहरुले पैसा पठाएर व्यक्तिहरुलाई नदिएर भागेका घटनाहरु पनि आउँथे ।

म एक वर्षजति जापानमा पनि बसेको थिएँ । औपचारिक प्रणालीबाट पैसा ल्याउने मेकानिजम धेरै गाह्रो कुरा थियो । त्यहि कुराहरुले मलाई सम्बन्धित घर परिवारलाई सहज हिसाबले पैसा पुग्न सकोस् र सरकारले चाहेको हार्ड करेन्सी पनि खातामा आउने किसिमको एउटा मेकानिजम बनाउँ भन्ने लाग्यो । त्यो मेकानिजम केही गर्न खोजिरहेको हामीजस्तो नयाँ उद्यमी मान्छेलाई व्यवसाय गर्न पनि होस् भन्ने केही बनाउने सोच आयो । यो तीनवटा किसिमको आम सर्वसाधराण र सरकारले चाहेको र फाइदा पनि हुने मेकानिजम बनाउनपर्छ भन्ने लाग्यो । सर्वसाधराण र सरकारले चाहेको मात्र भएर हुँदैन, फाइदा पनि हुने हुनुपर्छ ।

सर्वसाधारणले सहजरुपमा सुविधा पाउने, सरकारले खातामा पनि विदेशी मुद्रा प्रत्यक्षरुपमा आओस् र व्यवसाय पनि होस् भन्ने उद्देश्यका साथ हामीले रेमिट्यान्स सुरु गर्यौं । पहिला मलेसियाबाट सुरु गर्यौं । मलेसिया र नेपाल दुबै देशको केन्द्रीय बैंकले हामीलाई अनुमति दियो।

वास्तवमा मलेसियाको केन्द्रीय बैंकले पैसा पठाउन बाहिरको कम्पनीलाई अनुमति दिएको यो नै पहिलो पटक थियो । नेपालमा पनि छँदै थियो । पहिला पहिला विदेशी मुद्राको काम केन्द्रीय बैंकले गर्थ्यो । त्यसपछि वाणिज्य र नेपाल बैंकलाई दियो । क्रमशः अरुलाई दिँदै गएको थियो । त्यो नेपालको राष्ट्र बैंक र मलेसियाको केन्द्रीय बैंकले साँच्चै निजी क्षेत्रलाई प्रोत्साहन गरेर सुरुवात भयो ।

त्यो सुरुवात भइसकेपछि हामीले गर्दै गयौं । पछि क्रमशः बैंकहरु पनि रेमिट्यान्समा लागे । भइरहेका बैंकहरु लागे, हाम्रो बैंक त थिएन त्यो बेला । बैंकहरु पनि लागेपछि हामीलाई रेमिट्यान्सको काम गरेपछि बैंक तथा वित्तीय संस्था चाहिने रहेछ भन्ने लाग्यो ।

त्यसैले, हामीले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन भनेर केही वर्षपछि सुरु गर्यौं । रेमिट्यान्सको काम गर्नलाई त्यो फाइनेन्सियल इन्स्टिट्युसनले पनि खासै सहयोग गर्ने देखिएन । विदेशी मुद्राको काम वाणिज्य बैंकले मात्रै गर्ने भएकाले बीचमा हामीलाई वाणिज्य बैंक नै चाहिने रहेछ भन्ने महशुस भयो ।

प्रतिस्पर्धाको क्षेत्र एउटै थिएन हाम्रो । फाइनान्स आइसकेपछि बैंक खोल्नुपर्छ भन्ने लाग्यो । त्यत्ति बेलाको नियममा केन्द्रीय बैंकले काठमाडौंमा बैंकिङ लाइसेन्स दिएको थिएन । उपत्यका बाहिर राखेर दिने प्रवधान थियो ।

हामीले काठमाडौं बाहिरको वाणिज्य बैंक रुपमा जाने भनेर विरगञ्जलाई राखेर निवेदन दियौं । काम हुँदै थियो, केन्द्रिय बैंकले काठमाडौंमा पनि लाइसेन्स दिने प्रावधान खुलाइदियो । हामीले पहिला क्षेत्रीयरुपमा गरेको बैंकलाई अपग्रेड गराएर केन्द्रिय रुपमै सुरु गर्यौं । अनि ग्लोबल बैंक खुल्यो । आइएमई थिएन त्यत्तिबेला ।

ग्लोबल बैंक खुलेपछि एउटै प्रोमोटरको वाणिज्य बैंक र फाइनेन्स हुन जरुरी छैन, एउटै भएमा सहज हुन्छ भन्ने हिसाबले हामीले आईएमई फाइनेन्सियल इन्स्टिट्युसन र ग्लोबल बैंकलाई मर्जरमा लग्यौं ।

केन्द्रीय बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज गराउनुपर्छ भन्ने नीति लियो । र, वाणिज्य बैंकको २ अर्बबाट एकै पटकमा ८ अर्ब बनाएको लियो । केन्द्रिय बैंक र सरकारको नीतिलाई पनि हामीले पहिलो पालनकर्ताको रुपमा काम गर्यौं । सँगसँग बैंकको आकार बढ्दा सेवा र गुणस्तरको हिसाबले राम्रो हुन्छ भन्ने अनुमानसहित मर्जर र प्राप्तिमा अघि बढ्यौं ।

५ वाणिज्य बैंक, १० विकास बैंक र ६ वटा फाइनान्स कम्पनीसहितको २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको समग्र बैंकको रुपमा ग्लोबल आइएमई बैंक रहेको छ । २१ वटा अध्यक्षहरु, २१ वटा सिइओ, २१ वटा संस्थाका ७/७ जना बोर्डहरु र व्यवस्थापनको कुरा, यो सबै मिलाउन सहज हुँदैन । मर्जर र प्राप्तिमा नाम, सेयर आदान प्रदान (स्वाप रेसियो), सञ्चालक को बस्ने, सिइओ को बस्ने भन्ने कुराहरु त्यत्तिकै जटिल छ । यसको व्यवस्थापन धेरै गाह्रो काम हो ।

अहिले तपाईंले हेर्नु भयो भने हाम्रो यत्रो मर्जर हुँदा पनि चुनाव भएको छैन । अघिल्लो वर्ष ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्ज भए । तर, चुनाव गरेको छैन । निर्विरोध हिसाबले सञ्चालक समितिको चयन भएको छ । हाम्रो बोर्डमा बस्नुहुनेहरुमा पहिलो कुरा नै बैंकको हित र सेयरधनीको हितमा काम गर्ने हुनुहुन्छ । व्यक्तिगत कुरा नराखी बैंकको नेतृत्व लिने हो भने यो व्यवस्थापन हुन्छ ।

अहिले हाम्रो युवापुस्ताले धेरै आकांक्षा राखेको देखिन्छ । कुनै काम गरिरहेको छ भने तुरुन्तै त्यसको परिणाम चाहिन्छ । तर, यदि तपाईं इमान्दार भएर कुनै संस्थाप्रति लाग्नु भयो भने त्यसको रिजल्ट अवश्य आउँछ भन्ने मेरो मान्यता हो ।

कुनै पनि संस्था चाहे ग्लोबल आइएमई बैंक भनौं वा अरु संस्थामा भनौं जुनसुकै ठाउँमा काम गर्ने मान्छे जब लाग्छ नि त्यसले दिने परिणाम त्यो बैंकमा रिफ्लेक्ट हुन्छ । शाखामा काम गर्ने मान्छे वा म्यानेजर राम्रोसँग लाग्यो भने त्यसको परफर्मेन्स आफैं आउँछ । सबै शाखाको कम्बाइन्ड भयो भने हेड अफिसको आउँछ । हेड अफिससहित कम्बाइन्ड भयो भने बोर्डको अध्यक्षको र सबैको आउने हो ।

मलाई लाग्छ, जसले बैंकप्रति इमान्दार भएर काम गर्छ, उसको भविष्य उज्ज्वल छ । जस्तो ग्लोबलमै मिहेनत गर्ने र रिजल्ट निकाल्ने मान्छे छ भने अरु बैंकमा पनि ग्लोबलको यो बैंक म्यानेजर मिनेहत गर्छ भन्ने कुरा हुन्छ । रिजल्टले त्यो देखाउँछ । झ्वाट्ट हेर्दा बैंकको लागि वा ब्रान्चका लागि काम गरेको देखिएला, तर त्यो आफ्नै लागि गरेको हुन्छ । भनौं न इटहरीको वा कुनै ठाउँको मान्छे ग्लोबल वा अरु कुनै बैंकको मान्छेले राम्रो काम गरेमा केन्द्रमा कुरा हुन्छ। उसको ट्यालेन्ट हन्टिंग हुन्छ । उसलाई जसरी पनि ल्याउनुपर्यो भन्ने हुन्छ । उसलाई एक तहमाथि दिएर वा पाएको सुविधाभन्दा धेरै दिएर ल्याउनुपर्यो भन्ने कुरा हुन्छ ।

जो जहाँ छ, इमान्दार हिसाबले काम गर्यो भने परिणाम देखिन्छ । इमान्दार हिसाबले काम गरेमा स्वतः परिणाम आउँछ, हतारिनु पर्दैन । म बैंकको जुनियर एसिसटेन्ट मान्छे कल्पना पनि गरेको थिइँन बैंकको अध्यक्ष हुन्छु भनेर । मेरो ठूलो सपना भनेको जेनतेन सरकारी जागिर खाने र आफूले एउटा लेभलको अध्ययनका लागि पढ्ने, भाइबहिनीलाई पढाउने र आमाको ख्याल गर्ने भन्ने थियो । सानो घर बनाएर बस्ने भन्ने थियो । सायद, त्यो भन्दा ठूलो थिएन । तर, मलाई के लाग्छ भने आकांक्षा राखेर मात्र होइन, डेडिकेटेड भएर काम गर्नुपर्यो भन्ने हो । रिजल्ट अटोमेटिक आउँछ ।

अहिले म निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीमा छु । मलाई महासंघको अध्यक्ष बन्छु भन्ने कहिल्यै पनि लागेको थिएन । कार्यसमितिमा जाँदा पनि मलाई कहिल्यै माथि जान्छु भन्ने भएन । कार्यसमितिमा बस्दा पनि मैले इमान्दार हिसाबले काम गरेँ । सम्भवतः कार्यसमितिको सबैभन्दा धेरै यात्रा गर्ने मान्छे म थिएँ । मैले कहिल्यै पनि कार्यसमितिबाट उपाध्यक्ष हुन्छु भन्ने सोचेको थिइनँ । काम गर्दै जाँदा उपाध्यक्षको चुनाव गर्ने बेला निर्विरोध नै चुनिएँ । एउटामा निर्विरोध भएँ, अर्कोमा सबैभन्दा धेरै मत ल्याएँ । उपाध्यक्ष भइहालियो, अब वरिष्ठ उपाध्यक्ष लडौं न त भनेर चुनाव उठेँ । बरिष्ठमा पनि जितेँ । जहाँ काम गरेको छ, त्यहाँ डेडिकेटेड भएर इमान्दार हिसाबले काम गर्यो भने अर्को चरणको परिणाम अवश्य आउँछ भन्ने कुराको म प्रमाण पनि हुँ ।

मान्छेमा अरुको काम गर्दा भइहाल्यो, आफ्नोमा मिहेनत गर्छु भन्ने सोच हुन्छ । यो एकदम गलत सोच हो । त्यो मान्छेले कहिल्यै पनि गर्दैन। तपाईं जहाँ काम गर्नुहुन्छ, त्यहाँ मिहेनत गर्ने हो । म गाउँमा चाहिने चिजहरु डोको, नाम्लो, थुन्से आफैं बनाउँथे । गाउँमा किन्नुपर्थ्यो । तर, म आफैं बनाउँथे । एकपटक हेरेपछि, भलै त्यो राम्रो नहोला, तर काम चलाउ बनाउँथे । त्यसले गर्दा इमान्दार हिसाबले कामप्रति बफादार भएर काम गर्यो भने परिणाम आउँछ भन्ने मलाई लाग्छ ।

धेरै मिहेनत आफ्नै काममा गरौंला नि भनेर अर्को ठाउँमा बेवास्ता गर्ने होइन । त्यहाँ काम गर्ने बेलामा पनि सतप्रतिशत डिभोटेड भएर काम गर्नुपर्यो । अर्काको काममा चासो राख्नुको सट्टा आफ्नो काम इमान्दार भएर गर्यो भने परिणाम देखिन्छ ।

एउटा घटना छ मेरो जीवनको । दशैंको बेला थियो । भाइ र म सँगै थियौं । दशैंको अन्तिम दिन थियो । कार्पेटको व्यवसाय भर्खर सुरु गरेका थियौं । स्याम्पल पिस बोकेर मार्केटिंगमा थियौं । दुर्घटना भयो । तर, पहिला एयरपोर्ट गएर कार्पेट क्लियर गरेर म अस्पताल गएको थिएँ । २२ दिन रेस्ट गर्नु परेको थियो । त्यो भनेको कुनै पनि काम गर्दा काम सुरु गरेपछि सक्नुपर्छ र कामप्रति इमान्दार हुनुपर्छ भन्ने हो । र ममा त्यो अहिले पनि छ ।

काम गर्नुपर्छ भन्ने सिक्स सेन्स ममा छ कि जस्तो लाग्छ । कसैले केही फाइदा हुन्छ भनेर यो गरौं, त्यो गरौं भन्यो भने पनि त्यसतर्फ जाने होइन कि एउटा काम गर्नुपर्छ भन्ने मान्छे हो ।

म वाणिज्य बैंकमा काम गर्दा १२ वा १३ लाखको पैसा चाहिने बैंक ग्यारेन्टीका लागि वा केको लागि चाहिएको थियो । त्यो ऋण बैंकको एसिस्टेन्ट लेभलको कर्मचारीले लिन पाउने थियो । अफिसरभन्दा माथिकोले नपाउने र तलकोले पाउने थियो । तर, हाम्रोमा उद्यमीलाई सहयोग गर्ने कोही पनि हुँदैन । त्यहाँ निर्णय गर्ने मान्छेले तपाईं कि राजीनामा दिनुस् नत्र हुँदैन भन्नु भएको थियो । मैले राजीनामा दिएर त्यो पैसा लिएको थिएँ । त्यत्तिबेला व्यवसाय सेटअप भइसकेको त थियो । तर, राजीनामा दिनलाई गाह्रो थियो मलाई । स्थायीत्वको कुरा पनि थियो एउटा । तर, जागिरको मायाँ पनि थियो । केही नभएको बेला सहारा दिएको जागिरको माया थियो । व्यसवाय राम्रैसँग भइरहेको थियो । जागिरको अट्याचमेन्ट सुरुदेखिको भएकाले छोड्न केही गाह्रो भएको थियो ।

सबै हिसाब गर्ने हो भने अहिले हाम्रो बैंकमा ४५ लाख निक्षेपकताहरु छन् । त्यो हिसाबमा भन्दा व्यवसाय नै नभएको, बिऊ पुँजी नै नभएको शून्यबाट आएर यो सबै परिवारको ख्याल राख्दै व्यवसाय सुरु गरेर यहाँसम्म आउनु ठीकै गरेको हो जस्तो लाग्छ । अझै धेरै गर्न सकिन्छ भन्ने पनि लाग्छ । हामी कुनै आधारनै नभएको बेलामा त आएर एउटा स्तर तयार गर्न सक्यौं भने वातावरण भएको खण्डमा अझैं धेरै किसिमको रोजगारी दिने, राज्यलाई कर तिर्ने संस्था बनाउन सकिन्छ जस्तो लाग्छ । १९औं नम्बरमा आएको बैंक भएर पनि ग्लोबल आइएमईले सबैभन्दा बढी आयकर तिरेको छ । यो हाम्रो लागि गर्वको कुरा हो ।

मैले त विदेशका धेरै ठाउँहरु घुमेको छु । चाहे अमेरिका भनौं, युरोप वा अष्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्वका देशहरु धेरै ठाउँ देखेको छु। तर, मलाई नेपालमा जति अवसर अन्त छ जस्तो लाग्दैन । किनभने यहाँ सबै चीज एक्सप्लोर नै भएको छैन ।

हामीले रेमिट्यान्सकै सुरुवात गर्‍यौं । धेरै गाह्रो थियो । मान्छेहरुले मलाई अलि अलि दुःख गरेर जम्मा गरेको पैसा खत्तम बनाउने भयो भन्थे। गाउँबाट आएर कमाएको पैसा सक्यो भन्थे । यसरी विदेशी मुद्रा औपचारिक माध्यमबाट निजी क्षेत्रले प्रणाली बनाएर ल्याउने कुरा हुन्छ भन्ने नै थिएन । राष्ट्र बैंककै एकजना डेपुटी गर्भनरले अरु कोहीसँग चन्द्र ढकालजीले मिहेनत गरेर जम्मा गरेको पैसा यस्तो गाह्रो काममा लाग्यो भनेर भन्नु हुन्थ्यो रे । मैले प्रतिमहिना २० लाख डलर भित्र्याउँछु भन्दा यसले धेरै ठूलो महात्वाकांक्षी कुरा गर्यो भन्ने थियो ।

अहिले तपाईं कुनै पनि बैंक वा रेमिट्यान्समा जानु पैसा लिन वा पठाउन आईएमई गर्नुस् भनिन्छ । त्यो स्तरको विश्वास छ । रेमिट्यान्सको ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा हाम्रै छ । ब्राण्डिंग मात्रै नभएर फर्मल रुपमा रेमिट्यान्सलाई ल्याउने काम नै हामीले गरेको थियौं पहिलो नम्बरमा ।

मलाई के लाग्छ भने म चाहिँ १६ वर्षमा बुबा बितेपछि त्यहि कारणबाट एसएलसीमा केही विषय फेल भएर बाँकी रहेको विषय दिएर पास गरेको थिएँ । अहिलेको २४ वर्षको मान्छेले कमसेकम आमाबुबाबाट एक किसिमको शिक्षा पाएको छ । इन्टरनेटको पहुँचमा छ । त्यो व्यक्तिका लागि यति धेरै अवसर छ जस्तो लाग्छ । जे गरे पनि छ यहाँ । यहाँ एक्सप्लोर भएको छैन ।

हामी भारत र चीनको बीचमा यति ठूलो बजारमा छौं । म युवा भाईबहिनीलाई, जो बाहिर गइरहेका छन्, यहाँ अवसर नपाएमा जाने एउटा कुरा हो । तर, यहाँ केही छैन, राम्रो छैन भन्ने जुन नकरात्मक धारणा छ, त्यो एकदमै गलत हो । नेपालमा धेरै सम्भावना छ । आजको भोली नै त केही कुरा पनि हुँदैन । तर, गर्ने हो भने यहाँ धेरै अवसर छ । म ४५ सालमा जुनियर लेभलबाट सुरु गरेको मान्छे । आज यहाँ छु । समय त लाग्यो । तर, आज पहिलाजस्तो गाह्रो छैन । हामी गाउँबाट यहाँ आउन कसरी भाडा तिर्ने, कसरी गर्ने भन्ने थियो । म एक दिन हिँडेर आएको छु । हिँड्ने कुरा त सकिने भयो । तर, काठमाडौंमा बस्ने, खाने, भाडा तिर्ने कुरा धेरै गाह्रो थियो । अहिले त्यो अवस्था छैन । र, अहिले यदि कोहीसँग आइडिया छ भने तपाईंलाई फन्डिंग गर्ने बैंक तथा वित्तीय संस्थाहरु छन् । फाइनेन्सरहरु छन् । इक्विटी हाल्ने हामीजस्ता इन्भेस्टर छौं । संस्थागत र व्यक्तिगतरुपमा लगानी गर्नेहरु छन् । अहिले कुनै काम गर्छु नयाँ चिजहरुमा भन्ने हो भने लगानीको कुनै समस्या छैन ।

राष्ट्र बैंकले मर्जर एण्ड एक्विजिसनको नीति ल्याउँदा हामीले सरकारले ल्याएको नीतिलाई पनि फाइदा हुनुपर्यो भन्ने किसिमले काम गर्यौं। हाम्रो अहिले पनि सिद्दान्त सरकराले र राष्ट्र बैंकले ल्याउने नीति, सर्वसाधारणलाई पनि फाइदा हुने किसिमले र सरकारलाई पनि फाइदा हुने किसिमले काम गर्ने भन्ने हो । कतिपयले हामी १ नम्बर हुने किसिमले गरेको भनिन्छ । तर, हामीले १ नम्बर हुने किसिमले कहिल्यै पनि सोचेनौं । १ नम्बर त काम गर्दै जाँदा भएको हो । राष्ट्र बैंकले नीति ल्याएर प्रोत्साहन गर्यो र हामी गर्दै गयौं । र आज १ नम्बरमा भयौं । १ नम्बरमै पुग्छौं भनेर गर्यो भने कहिल्यै हुँदैन । त्यसो हुँदा कम्प्रमाइज गर्नुपर्ने हुन्छ । स्वतस्फूर्त रुपमा परिणाम आउने हुन्छ ।

दुई तीनवटा कुराहरु हेर्नुपर्ने हुन्छ । रेमिट्यान्स, जसलाई संस्थागत पनि बनायौं, यदि तीन वटै सिद्दान्तको हिसाबमा सुरु गरेका हौं । बैंकको पनि त्यहि अनुसार हो । बैंकको अहिले रिजर्भसहित गर्दा ६० अर्ब रुपैयाँको हाराहारीमा पुँजी छ । ठूलो परियोजनाका लागि फन्डिंग गर्नका लागि ठूलै पुँजी चाहिन्छ ।

सर्वसाधारण र उद्यमीले पनि ठूलो परियोजनामा एउटै बैंकले फन्डिंग गर्न सक्ने किसिमको होस् भन्ने चाहेको थियो । केन्द्रिय बैंकको पनि धेरै बैंक भए, मर्जर एण्ड एक्विजिसनमा गइदिए हुन्थ्यो भन्ने चाहेको थियो । हामीले पनि ठूलो बैंक भएमा खर्च कम भएमा व्यवसाय दिगो हुन्छ भन्ने हिसाबमा थियो । बैंक पनि यी तीनवटै सिद्दान्तमा आधारित भएर स्थापना भएको छ ।

आईएमई त सुरुवात नै गरेका हौं । अर्को हामीले पर्यटनमा पनि लगानी गरेका छौं । मलेसियामा हामीले ग्यान्टिंग आइल्याण्ड हेर्यौं । त्यसपछि पर्यटनमा यस्तो ठाउँ बनाउनुपर्यो, काठमाडौंबाट नजिक र फ्रेस ठाउँ होस् । स्वदेशी र विदेशी पर्यटक आउँदा जान पनि सक्ने होस्। सरकारले पनि विदेशी मुद्रा आर्जनका लागि पर्यटन क्षेत्र चाहेको छ । यस्तो ठाउँ होस्, जहाँ पर्यटक गएर फ्रेस हावा लिन सकोस् भनेर हामीले चन्द्रागिरी सुरु गर्यौं । त्यसपछि हामीलाई यो सातै वटा प्रदेशमा हुनुपर्छ भन्ने लाग्यो । सरकारले बेला बेला बजेटमा हिल स्टेसन बनाउने भनेर आउने गरेको छ । सरकारको यो कुरालाई निजी क्षेत्रको तर्फबाट हामीले सातै वटा प्रदेशमा चन्द्रागिरीजस्तै पूर्वाधार बनाउन लागेका छौं । यो काम पनि त्यहि तीन सिद्दान्तमा आधारित भएर बनेको छ ।

अहिले हामी अर्को एउटा परियोजना गर्दैछौं । फोटोकपी कागजको नेपालमा पूर्णउत्पादन छैन । आयात गरिरहेका छौं । सरकारले आयात कम गर्नुपर्यो भन्ने छ । हामी अहिले त्यतातिर लागेका छौं । करिब तीन चार महिनामा फोटोकपी पेपर हामीले उत्पादन गर्दैछौं । जुन कुरा सरकारले पनि प्रोमोट गरेको कुरा हो । यसमा पनि ती तीनै वटा सिद्दान्त लागू भएको छ । हाम्रो पहिलो मान्यता यी तीन सिद्दान्तमै आधारित रहेर मुल मन्त्र मानेर काम गर्नुपर्छ भन्ने हो ।

काम सुरु गर्दा धेरै मान्छेमा पुगोस् भन्ने हुन्छ नै । मैले काम सुरु गर्दा सानो होस भन्ने हुँदैन । त्यसलाई वृहत् नै होस् भन्ने रुपमा गर्छु ।

मैले ग्लोबल आईएमई बैंकलाई विश्वका हजार बैंकहरुमध्ये एक बैंक बनाउने भन्ने इच्छा भएको सुनाएको छु । यो खास ठूलो कुरा हो जस्तो लाग्दैन । किनभने पुँजीको आकारको हिसाबले वास्तवमा एक दुई वर्ष हामीले नगद लाभांश नलिने हो भने हामी पुर्याइहाल्छौं । विश्वका हजार वटा बैंकमध्येको एक ग्लोबललाई पुर्याउने नै हो । त्यो पनि भइहाल्छ । धेरै पछि सुरु गर्दा नेपालमा एक नम्बरमा भयौं भने अब अलिकति मिहेनत गर्यौ भने उत्कृष्ट हजार बैंकमा ग्लोबललाई पुर्याउने नै हो र त्यो पुग्छ पनि ।

कतिपय चिजहरु हामीले चाहेर पनि अगाडि बढेको छैन । कन्ट्री रेटिंग नभएर हामीले प्रक्रिया चालेको कुरा पनि बीचमा रोकिएको छ । बेलायत, दिल्ली, अष्ट्रेलियामा हाम्रो प्रतिनिधि कार्यालय राखेका छौं । कोरियामा शाखा कार्यालय खोल्ने भनेर सुरु गरि राष्ट्र बैंकबाट पनि अनुमति लिएर काम अघि बढाएका छौं । तर, त्यहाँ पनि फाइनल भएको छैन । अब कन्ट्री रेटिंगको प्रक्रिया अघि बढेको छ, त्यसपछि सोचेजस्तो होला । हामी अन्तराष्ट्रियरुपमा जानुपर्छ भन्ने योजना पनि छ ।

हामीले सबैका लागि बैंक भनेर सुरुवातबाटै नारा राखेका छौं । बैंक सानो बचतकर्तादेखि ठूलो बचतकर्ता, सानो व्यवसायीदेखि कर्पोरेट लेभलको व्यवसायी सबैका लागि बैंक भनेर हामीले काम गरेका छौं । अब आउने दिनमा डिजिटलाइजको कुराहरु भइरहेको छ । त्यसलाई अलि प्राथमिकता दिइरहेका छौं । सञ्जालका हिसाबले सबै जिल्लामा पुगेका छौं । कतिपय मर्जर र एक्विजिसनको पाटोबाट अलिकति कन्सोलिडेसन भइरहेको छ । यसमा हाम्रा हरेक कर्मचारी र हरेक शाखाले सेवालाई चुस्त दुरुस्त बनाउनुपर्ने छ । हामी त्यसमा लागिरहेका छौं । वाणिज्य बैंकले दिने विश्वस्तरीय सेवा दिने हिसाबले हामी ग्लोबल आइएमई बैंकलाई एउटा बैंकको रुपमा प्रस्तुत गर्ने हिसाबमा र उपभोक्ताले महशुस गर्ने रुपमा बनाउन लागि परेका छौं ।

२० वर्ष पहिलाको बैंकिंगको कुरा गर्दा खेरि एउटा कुरा प्रविधि धेरै फरक भइसक्यो । त्यत्तिबेला प्रतिस्पर्धा थिएन बैंकहरुमा । सिमित ठाउँहरु र सिमित व्यक्तिहरुले मात्रै बैंकिग सुविधा पाएको अवस्था थियो । अहिले सबै ७५३ स्थानीय सरकारमा बैंक पुगेको छ । हरेक हिसाबले हरेक ठाउँमा इन्टरनेटको सुविधा छ । पहिला बैंकको सेवा लिन बैंकमा धाउनुपथ्र्यो भने अहिले उपभोक्ताकहाँ बैंक जाने किसिमको सुविधा भएको छ । यसले मुख्य गरि व्यवसायी र व्यवसाय गर्न खोज्नेहरुलाई सहज भएको छ । २० वर्ष पहिलाको कुरा र अहिलेको कुरा गर्दा वास्तवमा अहिले धेरै फरक छ ।

आईएमईकै कुरा गर्दा बैंक ग्यारेन्टी लिनुपर्ने थियो ५० लाख रुपैयाँको वाणिज्य बैंकबाट राष्ट्र बैंकमा राख्नलाई । बैंक अफ काठमाण्डू त्यो बेला हाम्रो बैंकर थियो, अहिले हामीसँगै छ । उहाँहरुकोमा ५० लाखको बैंक ग्यारेन्टी गराउन जाँदा हामी त्यत्ति व्यवसाय सेटल नभएको र यो काम पनि आफैंमा के हुन्छ भन्ने थियो । त्यो जारी गर्नका लागि त्यो बैंकका सिइओ राष्ट्र बैंकका तत्कालीन विदेशी विनिमय विभागका प्रमुख कृष्णबहादुर मानन्धरकहाँ गएर यस्तो किसिमको आएको छ, दिने कि नदिने भनेर सोध्नु भएको थियो रे । ५० लाखको बैंक ग्यारेन्टीका लागि कन्फिडेन्स बैंकहरुलाई पनि थिएन । त्यो अवस्थाबाट सुरु भएको बैंकिग अहिले धेरै फरक भइसक्यो ।

भाग्यवश भन्नुपर्दा त्यसरी सुरु गर्दा पनि बैंक अफ काठमाण्डू नै थियो र आज बैंक अफ काठमाण्डू ग्लोबलमै आयो मर्ज भएर । आज धेरै सुविधा निक्षेपकर्ता र ऋणीले पाएका छन् ।

मर्जरकै कुरा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ । एउटा मर्जरको संयोजक हुँदा तीन चार वटा कुरामा कन्फिडेन्ट हुनपर्छ । तपाईं बैंकको अध्यक्ष हुनुहुन्छ भने मेरो अध्यक्ष पद गयो भने पनि ठीकै छ, तर बैंक राम्रो बनाउनुपर्यो भन्न सक्नुपर्छ । आफैंले त्याग गर्न सक्नुपर्यो । नामदेखि अन्य सबै कुराहरु भइसकेपछि चाहिँ सामूहिक वा बैंकको स्वार्थमा निर्णय गर्नुपर्दा व्यवस्थापनका मान्छेलाई पनि मिलाउन गाह्रो हुँदैन । तर, कसैले आफ्नो निजी स्वार्थमा गर्न चाह्यो भने त्यो दिगो हुँदैन ।

बैंककै लागि गर्दा साझा स्वार्थ हुन्छ । २१ वटा संस्थाबाट आउँदा पनि एउटै कुरा हुन्छ । तर, २१ ठाउँको फरक फरक कुरा भयो भने मिल्दैन। त्यसैले, आफूमाथि सधैं संस्था राख्नुपर्छ । हाम्रोमा कहिल्यै पनि बोर्डमा द्वन्द्व भएन । १६-१७ वर्ष हुँदा पनि निर्विरोध भएको छ, जबकी यतिका धेरै संस्था मर्जर भएका छन् । नेतृत्वले नै आफूभन्दा माथि संस्थालाई राखेपछि अरुले केही भन्ने कुरै हुँदैन ।

यो कुरा मर्जरका लागि मात्रै नभएर सबैतिर लागु हुन्छ । २०४५ सालमा विशालबजारमा काम गर्दा मैले बैंकका लागि काम गर्दै छु किन समय दिनु, साढे तीनमा हिँडे हुन्छ भनेको भए सायद आज म बैंककै अफिसर हुन्थे वा रिटायर्ड भएर केही गर्थे होला । तर, मैले त्यो कहिल्यै पनि भनिनँ । मैले संस्थाकै लागि डिभोटेड भएर काम गरेको हुनाले सायद मेरो काम गर्ने बानी बस्यो र परिणाम पनि आयो । आजको अवस्था त्यसैको प्रतिफल हो लाग्छ ।

र, यो बानी एकदम रहिरहन्छ मान्छेमा । म अहिले पनि उमेरको हिसाबले ५७-५८ पुगे । त्यत्ति धेरै नगरेपनि हुने हो । तर, काममा मेरो डेडिकेसन अहिले पनि उस्तै छ । अहिले पनि ममा कुनै कमि छैन । अस्ती म व्यापार मेलामा सहभागी हुन बागलुंग गएको थिएँ । राष्ट्रपति पनि जानु भएको थियो । बेलुका तीन चार बजेसम्म हामी त्यहि थियौं । सामान्यतयः चार बजेपछि पोखरामा बसौं भन्ने हुन्छ । तर, हामी बागलुंगबाट पोखरा आएर त्यसपछि नारायणगढ आएर ११ बजे बस्यौं । भोलीपल्ट काठमाडौं फर्किनुपर्ने भन्ने थियो ।

त्यसरी काम गर्ने मेरो बानी छ । र त्यो बानी अहिले पनि छ । त्यसरी काम गर्यो भने प्रतिफल देखिन्छ । २४-२५ वर्षको युवाले त्यसरी काम गर्यो भने रिजल्ट अवश्य पनि आउँछ ।

समस्या भनेको घटना अनुसार हुने हो । सानो संस्थामा सानो समस्या हुन्छ । एउटामा एउटा घटना होला । धेरैमा धेरै विषय होला । प्राकृतिकरुपमा नै यो हुने भई नै हाल्यो । समस्या समाधान गर्ने प्रयास गर्ने हो । त्यसमा कति सफल भइन्छ कति भइँदैन ।

मैले पब्लिक कन्फिडेन्ट बनाउनुपर्ने बैंकको मात्रै थिएन । नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट निजी क्षेत्रको तर्फबाट आम सर्वसाधारणको कन्फिडेन्ट बढाउनु थियो । केन्द्रिय बैंक, सरकार, नियमनकारी निकायहरु धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता संस्थाको तर्फबाट काम गर्नुपर्ने थियो । अब ठीक छ भन्ने हिसाबको कन्फिडेन्ट बनाउनु थियो । अब बिग्रियो भन्ने जुन न्यारेटिभ थियो, त्यसलाई हटाउनु थियो ।

कोरोना महामारी, रुस र युक्रेन युद्धले बिगार्यो भन्ने थियो, त्यो धेरै हदसम्म अहिले क्रमशः हराएको छ । अहिले बैंकमा लगानीयोग्य रकम छ । कर्जा दिन कुनै समस्या छैन । बैंकमा ब्याजदर धेरै भयो भनेर व्यवसायीको जुन आवाज थियो, त्यो क्रमशः घटेर एकल अंकमा आएको छ । पर्यटन बढेको छ । रेमिट्यान्स बढेको छ । विदेशी मुद्राको सञ्चिति पनि अहिलेसम्मकै राम्रो भएको छ । यो हुँदाहुँदै पनि आम व्यवसायी र सर्वसाधारणमा केही हुँदैन भन्ने नकरात्मक अवस्था हुनु भएन । सरकारको तर्फबाट जुन खर्च भएको पैसाको भुक्तानी भएन भन्ने छ । सरकारबाट पनि त्यो पैसा दिन्छु भन्ने काम भइरहेको छ । कर्जाको ब्याजदर घटेको छ अब काम गर्नुपर्छ भन्ने विश्वास सबैमा बढ्छ ।

कतिपयले हुँदैन भन्ने सोच्छन् । तर, यो बीचमा पनि हामीले बुटवल र गैँडाकोटमा १३-१४ महिनामा दुई केवलकार प्रोजेक्ट पुरा गरेर सञ्चालनमा ल्यायौं । हामी अरु ठाउँमा पनि फेरि सुरु गर्दैछौं । काम गर्न खोज्यो भने हुन्छ भन्ने हिसाबको सकरात्मक कुरा अघि लग्यो भने त्यहि किसिमको सन्देश जान्छ । आम सर्वसाधारणले नै अब त्यस्तो छैन ।

कोरोनादेखि रुस र युक्रेनको युद्धको प्रभाव पनि कम भइसक्यो भन्ने किसिमको सर्वसाकारणको विश्वास बढाउनु पर्यो भन्ने मेरो कुरा हो । बैंक तथा वित्तीय संस्थाले पनि बढाउनुपर्ने कुरा हो । उनीहरुले पनि समय समयमा नीतिहरु परिवर्तन भयो भनेर कर्जा तुरुन्तै उठाउने, ब्याजदर तुरुन्तै बढाउने काम गरिन्छ भन्ने जुन सोच आम सर्वसाधारणमा छ, त्यो चीजहरुको पनि समाधान हुनुपर्छ । धेरै कुराहरु अहिले मिलाउँदै आइएको छ ।

केन्द्रीय बैंकले नै अहिले स्प्रेड रेटमा यो भन्दा बढी हुनुहुँदैन भनेर स्पष्ट तोकेको छ । अब बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणको कन्फिडेन्ट बढाउने बैंकमाथिको विश्वास बढाउन काम गर्नुपर्छ । कतिपय घटनामा बैंकको कर्जा तिर्नुपर्दैन भन्ने नाराहरु चर्चित भएर नआएका होइनन् । तर, यी चीजहरु क्षणिक हुन्छ जस्तो लाग्छ । बैंकको कर्जा भनेको त तपाईं हामीले सय, दुई सय, पचास रुपैयाँ गरेर जम्मा गरेको निक्षेप हो । ऋण नतिर्दा त त्यहि सर्वसाधारणकै पैसा डुब्ने हो । त्यहि कुरा नबुझी नारा लगाइएको पनि देखिन्छ । यस्ता कुरामा बैंकहरुले जनचेतना दिएर सर्वसाधरणलाई आत्मविश्वास बढाउन पर्छ भन्ने हो ।

म त नेगेटिभ भन्ने छँदै छैन जस्तो लाग्छ । जतासुकै अवसर नै अवसर मात्रै देख्छु ।

अस्ती दोलखामा व्यापार मेला थियो । प्रधानमन्त्री पनि जानु भएको थियो । म पनि त्यो कार्यक्रममा पुगेको थिएँ । व्यापार मेला भन्न साथ व्यवसायीहरुकै हो । त्यहाँ मैले स्पष्टरुपमा पहिलाको जस्तो नकारात्मक अवस्था छैन भनेको थिएँ । अब ठीक हुँदैछ भनेको थिएँ । हरेकले त्यहि सोच्ने हो भने त सबै ठीक हुँदै जान्छ । मेरो सिद्दान्त त्यहि हो र त्यहिअनुसार वकालत पनि गरेको छु ।

म उद्योग वाणिज्य महासंघको अध्यक्ष भएको ९ महिना हुन लाग्यो । हामीले महासंघको भारतीय समकक्षी संस्था सिआईआईसँग मिलेर धेरै ठूलो कार्यक्रम गरर्यौं । कार्यक्रममा त्यहाँका उद्योगमन्त्री पनि आउनु भएको थियो । त्यहाँ हामीले नेपालमा व्यवसायको अवसरको वकालत गरेका थियौं । चीनमा पनि त्यहाँको सिसिपिआईटीसँग गर्यौं । त्यहाँ पनि उद्योग राज्यमन्त्री आउनु भएको थियो । अस्ती हामीले दुबईमा पनि गर्यौं । यो क्रमशः सकरात्मक हिसाबको वकालत गर्ने काम मैले गरिरहेको छु । अहिले वकालत गरेको आजको भोली नै रिजल्ट आउने होइन । दुबईमा अस्ती दुई तीन हप्ताअघि कार्यक्रम गरेर आइयो । अब अहिले नै त रिजल्ट आउने होइन । तर, विस्तारै यसको रिजल्ट देखिन थाल्छ ।

हिँजो १० वा १२ लाख रुपैयाँ ऋण लिनलाई पनि त्यो अवस्था थियो । अहिले बैंकहरु तपाईंको घरमा आएर जति चाहियो लिनुस् भनिरहेका हुन्छन् । अहिले धेरै सजिलो छ । हामीले कहिल्यै पनि अरुको व्यवसायमा हस्तक्षेप गर्ने गरेका छैनौं । धेरै व्यवसायीहरुले एउटाले गरेको अर्काले खोस्ने गरेका हुन्छन् । तर, हामी त्यो हिसाबमा कहिल्यै छैनौं ।

कतिपय चिजहरु अहिले सामाजिक सञ्जालमा नेपालमा अवसर नै छैन भन्ने नकरात्मक न्यारेटिभ छ, त्यो परिवर्तन गर्नुपर्ने देखिन्छ । हामी कहाँ अहिले नर्सिंग कलेजहरु सरकारी नीतिका कारण बन्द भएको अवस्था छ । हाम्रो सीमा क्षेत्रमा चाहिँ नेपालकै कोर्स राखेर पढाइएको भन्ने छ । यस्ता चिजहरु तुरुन्तै सरकारको तर्फबाट सम्बोधन हुनपर्छ । समाचारहरुमा दशौं हजार नर्सको माग भयो भन्ने हेडलाइन आउँछ। अब मान्छे नै छैन यहाँ । यहिँका अस्पतालमा नर्स छैनन् । गुणस्तर नियमनकारी निकायले कन्ट्रोल गर्नुपर्यो । बन्द नै गर्ने, पढ्नै नदिने र जबरजस्ती मान्छेलाई बाहिर नै जान बाध्य बनाउने कतिपय नीतिहरुका कारण भएका छन् । त्यो हुन हुँदैन ।

११ कक्षामा पढ्दै गरेकी मेरो भाइको छोरीसँग हिँजो बिहान कुरा भयो । १२ पढेपछि कहाँ जाने भन्दा बेलायत भनिन् । मैले जाने भएपनि पढेर यहि फर्किनुपर्छ भनेको थिएँ । मेरो छोराछोरीलाई पनि बाहिर जाने तर नेपालमा फर्किनुपर्छ भनेको छु । अभिभावकले पनि राम्रो शिक्षा लिन जान दिने हो तर गइसकेपछि फर्किनुपर्छ भन्ने स्पष्ट सन्देश दिनुपर्छ जस्तो लाग्छ । अभिभावक बुढाबुढी भएर भोली तपाईंलाई अस्पताल लैजाने वा औषधी दिने मान्छे नै नभएमा छोराछोरी अमेरिका, बेलायत वा अष्ट्रेलिया भएर के भयो ? कमसेकम आमाबुबा बिरामी हुँदा तातो पानी दिने मान्छे चाहिन्छ । मलाई त्यस्तो लाग्छ । त्यसैले म हरेक मान्छेलाई बाहिर पढ्न जाँदा नेपाल फर्किनुपर्छ भन्ने गरेको छु।

त्यसैले मलाई नेपालमा अवसर नै अवसर छ जस्तो लाग्छ । मैले वाणिज्य बैंकमा काम गर्दा ५४५ रुपैयाँ तलब थियो । अहिले तपाईंले राम्रो गर्नुभयो र मास्टर्सपछि इन्ट्री लेभलमै काम गर्दा ३०-४० वा ५० हजार त्यसै दिन्छ । आखिर विदेश गएर पनि पैसा पाउने त्यहि हो । कन्भर्ट गर्दा मात्रै धेरै देखिने हो । तर, त्यहाँ पनि सजिलो त छैन । त्यसैले म त नेपालमै बस्ने र यहि अवसर छ भन्छु । शिक्षाका लागि जाने वा सिपका लागि जाने कुरा एउटा छ । रोजगारी नभएर वैदेशिक रोजगारमा जाने बाध्यता आफ्नै ठाउँमा छ । तर, त्यहाँबाट फर्किएपछि बचत गरेको पैसाले सानो सुरु गर्यो भने यहाँ त्यसले ठूलो आकार लिन्छ भन्नेमा मलाई विश्वास छ ।

बाहिर जाने नेपालीहरु पनि सामाजिक सञ्जालमा नेपालप्रति राजनीतिक, सामाजिक रुपमा नकरात्मक कुरा धेरै गर्ने गरेको देखिन्छ । उहाँहरु राम्रो अवसरका लागि जानुहुन्छ भने उहाँहरुसँग भएको सिपदेखि पुँजीलाई सबै जना मिलेर यहाँ बनाउन सकिन्छ नि । म चाहिँ त्यसैले त्यसै गर्न आग्रह गर्छु । कोभिडको बेलामा म झण्डै गइसकेको हो । १० दिन आईसियुमा बसेको थिएँ । त्यो बेलामा अमेरिकादेखि बेलायतबाट मान्छे यहिँ आएँ । आखिर जन्मस्थान घर भनेको त घर नै रहेछ । त्यसैले यसलाई बनाउने हिसाबले यहिँ लगानी गर्नुपर्यो । लगानीको अवसरका हिसाबले पनि नेपालमा संसारका कुनै देशको भन्दा कम अवसर छ जस्तो लाग्दैन ।


क्याटेगोरी : अर्थ
ट्याग : #ग्लोबल आइएमइलाई विश्वका ठूला र उत्कृष्ट बैंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:34 am5:59 pm +0545