Techie IT
बिहीबार, साउन २,२०८२

मञ्चमा बालेन–सुनिता संवाद, गुरागाईंसँग भएन बोलचाल


काठमाडौं । बजेट ल्याउनैपर्ने बाध्यताका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं एकठाउँमा उभिएका छन् । महानगरको नगरसभाको १७औँ अधिवेशनको पहिलो र दोस्रो बैठकमा तीनैजना एउटै मञ्चमा देखिएका हुन् ।

राष्ट्रिय सभागृहमा जारी नगरसभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ बजेटमाथि छलफल चलिरहेको छ ।

मञ्चमा शाह र डंगोलबीच सामान्य कुराकानी भएको थियो । तर, मेयर शाह र गुरागाईंबीच बोलचाल भएन । एउटै मञ्चमा बसे पनि उनीहरूबीचको तिक्तता देखियो ।

मेयर शाहले गत वर्ष पुसमा काठमाडौं टावरको प्रक्रिया नपुर्‍याएरै गुरागाईंले नक्सापास गरेको आरोप लगाएका थिए । त्यसपछि सुरु भएको विवाद अझै साम्य भइसकेको छैन ।

मेयर शाहले गुरागाईंसँग बैठक नबस्ने अडान राखेपछि लामो समय उपमेयर डंगोल, महानगरका प्रवक्ता नवीन मानन्धरबीच विभिन्न चरणमा वार्ता भएको थियो । तर, कुनै निष्कर्ष आउन सकेको थिएन ।

असार मसान्तसम्म बजेट ल्याउनैपर्ने बाध्यताका कारण मेयर शाह गुरागाईंसँग बैठक बस्न तयार भएका हुन् ।

मेयरले असार २७ गते कार्यपालिका बैठक बोलाएका थिए । कार्यपालिका बैठकका लागि २४ एजेन्डा तय गरिएका थिए ।

तर, मेयर शाहले पहिलो नम्बरमा रहेको बजेट ल्याउने प्रस्तावमात्र राखे । कुल ४५ सेकेन्डमै बैठक सकिएको घोषणा गरे । त्यस बैठकमा पनि उनले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेका थिएनन् ।

 

“सबै प्रमाणित गर्ने कामहरू भएका छन् । हुनुपर्ने निर्णयहरू भएकै छन् । तर, व्यक्तिगतरूपमा म बोल्दिनँ भन्न त पाइयो । कुरा प्रमुख प्रशासकीय पदसँगको हो । व्यक्तिसँगको होइन,” महानगर स्रोतले भन्यो ।

नगरसभाको पहिलो बैठकमा मेयर शाहले सबै कार्यपालिका सदस्यहरूले साथ दिनुपर्ने बताएका थिए । उपमेयर डंगोलले पनि बजेट ढिलो आएकामा माफी मागेकी थिइन् ।

स्थानीय तहले असार १० गतेभित्र बजेट नगरसभामा पेस गर्नुपर्ने प्रावधान छ । तर, महानगरमा विवादका कारण समयमै बजेट आउन सकेको थिएन । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गुरागाईंसँग भएन बोलचाल, #मञ्चमा बालेन–सुनिता संवाद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Light Rain
5:17 am7:02 pm +0545