Techie IT
बुधबार, असार १८,२०८२

सन्दर्भ २२ औं राष्ट्रिय धान दिवस: धान खेतीमा हामी कसरी चुक्दैछौ ?


नेपाल कृषि प्रधान देश हो । यहाँका ६२% जनसंख्या कृषि पेशामा संलग्न छन् । देशको कुल क्षेत्रफलको १,४७,१८१ बर्ग कि.मी. मध्य २७% ( ४२,२१,००० हेक्टर ) खेती योग्य जमीन छ । उक्त खेतीयोग्य जमीन मध्ये २०% (३०,९१,००० हेक्टर ) मा खेती गरिएको छ भने ७% ( १०,३०,००० हेक्टर ) खेती नगरिएको खेती योग्य जमीन रहेको छ । खेतीपातीको लागि अनुकुल हावापानी एवं बाली विविधताको लागि प्रचुर सम्भावना रहेर पनि हामी कहाँ चुक्दैछौ र पेशागत पलायनता बढ्दैछ साथै आयत आकासीदोछ ।

विगत १० वर्ष देखि सरकारले नीति तथा कार्यक्रम मार्फत उत्पादनलाई दोब्बर बढाउने आयात प्रतिस्थापन कृषिको ब्यवसायिकरण, यान्त्रीकरण, र औधोगिकरणको रटान लगाउँदै आएको छ । कृषि लगानी दशक जस्ता कर्णप्रीय नीति पनि घोषणा गरेको छ । तर यसको ठोस कार्यनीति, कार्ययोजना छैन । नेपाली कृषिको वस्तविक धरातल फरक छ । देशको करिब ४४ लाखको हाराहारी घर परिवारले कुषि कर्म गर्दै आएका छन् । जसमध्ये करिब ४१ लाख घर परिवार पारिवारिक खेती प्रणालीमा रहेका छन् । पारिवारिक खेती नेपालको मौलिक खेती प्रणाली हो । यसबाट ८०% खाद्यान्न उत्पादन हुने गरेको छ । अहिलेको अवस्थामा कृषि पेशामा संलग्न हुने भनेको अधिकांश महिलाहरु छन् । देशको १९.७१% जमीन मात्र महिलाको नाममा छ । उक्त जमीन मध्ये पनि ११% मात्र उनीहरुको आफ्नो अधिनमा रहेको छ । महिलामैत्री कृषि प्रविधिको विकास हुन सकेको छैन । बैँक तथा वित्तिय संस्थाले उनीहरुलाई पत्याउँदैन ।

नेपालमा १५ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ । उत्पादनको हिसावमा विश्वमा नेपाल धान उत्पादन गर्ने १७ औं स्थानमा रहेको छ । तर प्रतिवर्ष धान उत्पादनको क्षेत्रफल विस्तार कम हुँदै गएको छ । । विगत ६० को दशकमा चामल निर्यातक कार्यालय राखेर नेपाली स्वस्थ उत्पादन धान चामल निर्यात गर्ने १९८० देखि विस्तार उत्पादन घट्दै गएर देश हाल आयात गर्ने देशमा परिणत भयो ।

नेपालमा अनुसन्धान किसानको घर खेत सम्म पुगेन । किसानको चाहना र उपभोक्ताको रोजाई र आवश्यकता अनुसारको धानको जाल विकास गरी उपलब्ध गराउन सकेन । एउटा उदाहरण हेरौं हाम्रो बजारले मध्येम स्तरको जीरा मसिनो चामाल बढि खोज्छ । तर नेपालमा हाईब्रीड धान बढी फलाईन्छ र मोटा चामल निकालीन्छ । मसिनो धान निकै कम खेती गरीन्छ । कृषि प्रधान देशले उपभोक्ताको आवश्यकता अनुसारको धान उत्पादन गर्न सकेको छैन । उल्टै बाहिरबाट किनिन्छ । उत्पादनको हिसाबमा हामिले वार्षिक ४८ लाख टन धान उत्पादन हुन्छ । वार्षिक माग ६० लाख टन हो । माग अनुसार साथै बजारको चहाना अनुसारको उत्पादन नहुँदा वार्षिक १६ अर्व भन्दा बढि मुल्यको धान चामलको खरिद गरिदै आएको छ ।

हाल प्रति हेक्टर २ देखि ३ मेट्रिक टन उत्पादन हुदै आएको छ । हामीले प्रविधिको उपयोग, सिंचाईको सहि ब्यवस्थापन गर्न सकेमा प्रति हेक्टर ५ मेट्रिक टन उत्पादन बनाउन सकिने विज्ञको सुझाव छ । यसले अपुग चामलको मागको आपूर्तिमा सहयोग गर्दछ । सिचाई योग्यमा सिंचाई चाहिने धान, चैते धान, सुख्खा सहने जातको धानमा विविधिकरण गर्दा धान जन्य खाद्यन्नको संतुलनमा हामीलाई समस्या रहदैन । यसर्थ साना किसानको विविधिकृत उत्पादन र खानेबानीको सुधार एवं उत्पादनमा आधारीत खाद्य सुरक्षाको प्रवद्र्धन आवश्यक देखियो ।

उत्पादनको लागि आवश्यक विउमा नेपालको परनिर्भरता बढ्दो छ । मलखादको उपलब्धता छैन । कृषि प्रसार बरालीएको छ । आयातीत खाद्य वस्तुले बजार बहकीएको छ । स्थानीय उत्पादनले बजार र उचीत मुल्य पाउँदैन । उत्पादन गर्ने किसानले भण्डार र प्रशोधनको ब्यवस्थाबाट लाभ लिन पाएको छैन । कृषि उत्पादन विउ मल, औजार, बजारमा दिईने अनुदानको दुरुपयोग एवं किसानको पहुँचमा पुगेन ।

कुराले कृषि बिग्रियो । कृषि भनेको कर्म हो । कृषि पेशा भनेको धर्म हो । धर्म र कर्मको प्रतिफल भनेको उत्पादन, रोजगारी र जीविकोपार्जन हो । कृषि अन्य देश र भूगोलको देखेर नक्कल गर्ने बस्तु पनि होइन यो त नितान्त हावापानी, किसानको क्षमता, आर्थिक अवस्था, राज्यको नीति नियम, ऐन कानुन र उपभोक्ताको चेतानस्तर र उपयोग क्षमतामा भर पर्ने कुरा हो । त्यसैले कृषिलाई पर निर्भरतामुखी नभई स्थानीय श्रोत साधन, क्षमता बिज्ञता तथा ज्ञान सीपमा केन्द्रित गर्दै समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्दछ ।
अनुदान, लगानी र उत्पादनमा भएको समस्याको निमर्म विश्लेषण सुधार आवश्यक छ । कृषि भूमिको वर्गिकरण, किसानको पहिचान, वर्गिकरण र किसान परिचयपत्रको आधारमा सेवा सुविधाको व्यवस्थाको लागि स्थानीय सरकारलाई जीम्मेवार बनाउन सकिएमा रुपान्तरणको शुरुवात, उत्पादकत्वको बृद्धि र धान दिवसको सन्दर्भिकता थप बलियो बन्छ ।

लेखक राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दर्भ २२ औं राष्ट्रिय धान दिवस: धान खेतीमा हामी कसरी चुक्दैछौ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545