शङ्खरापुरले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने

काठमाडौँ। शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट पारित गरेको छ ।
नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख रमेश नापितले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख समिता श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/८० का लागि बजेटमाथि छलफलसहित पारित भएको हो । नौ वडा रहेको नगरपालिकाले वडावासीका लागि निःशुल्क शिक्षादेखि स्वास्थ्यसम्मका कार्यक्रम स्वीकृत गरेको छ ।
नगरसभाले ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सुविधा दिने नीति पनि पारित गरेको छ । यस्तै शवबाहन सेवा पनि निःशुल्क गर्ने नीति पारित गरेको शङ्खरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने, नगरवासीलाई साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग सम्झौता गरेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।
कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गरिनेछ । गर्भवती महिला र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने, गर्भवती र सुत्केरी आमाका लागि पोषण भत्ता उपलब्ध गराइने भएको छ ।
नगरपालिकाभित्र शवबाहन सेवा निःशुल्करुपमा उपलब्ध गराइने, अशक्त तथा ज्येष्ठ नागरिकलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर दिइने, ज्येष्ठ नागरिकका लागि नगरपालिकाको तर्फबाट पोषण भत्ताको व्यवस्था गरिने भएको छ ।
ऐतिहासिक सांस्कृतिक शहर शङ्खरापुर नगरभित्रका जात्रा, पर्व दीर्घकालीन आर्थिकरुपमा सहज ढङ्गले सञ्चालन गर्नका लागि कोषको व्यवस्था गर्न लागिएको छ । ऐतिहासिक साँखु (सक्व) र तामाङ समुदायको ऐतिहासिक एवं मौलिक बस्तीलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरिने भएको छ ।
सम्पदा बस्तीमा मापदण्डअनुसार घर बनाउनेलाई प्रोत्साहनस्वरुप रु एक लाख दिँदै आएकामा घरको नक्सा तयार गरेबापत रु २५ हजार थप गरी रु एक लाख २५ हजार दिने व्यवस्था मिलाइएको छ ।
सम्पदा बस्ती बाहिरको हकमा ‘घ’ वर्गको घर नक्सा नगरपालिकाबाट निःशुल्क बनाइदिने नीति पनि पारित भएको छ । नगरस्तरीय खेलकुद एकेडेमी सञ्चालन गर्ने, नगरपालिकाभित्र खुला व्यायामशाला सञ्चालन गर्ने, विद्यालयस्तरबाटै मार्शल आर्टका खेलाडी उत्पादन गरी शङ्खरापुर नगरपालिकाका खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादन गर्ने नगरपालिकाको योजना छ ।
स्थानीय कच्चापदार्थबाट सञ्चालन हुने उद्योगलाई अनुदान तालिम तथा अन्य सहुलियत प्रदान गर्ने, गृह श्रमिक, लघुउद्यमी तथा साना व्यवसायीबाट उत्पादित वस्तुको बजारीकरणलाई सहज बनाउन कोसेली घर स्थापना गरिने भएको छ ।
सामुदायिक वनमा आयआर्जनको कार्यक्रमका लागि सार्वजनिक, निजी साझेदारीका कार्यक्रम ल्याउन लागिएको छ । शङ्खरापुर नगरपालिकाको समृद्धिको लक्ष्यप्राप्तिका लागि कृषि, पर्यटन विभिन्न क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने नीतिलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ ।
शङ्खरापुर उज्यालो कार्यक्रमअन्तर्गत सबै वडाका मुख्य चोकमा सडक बत्तीे जडान गर्न लागिएको छ । जनघनत्व बढी भएका मुख्य चोकमा सिसीटिभीको व्यवस्था गरी सुरक्षाको प्रत्याभूति दिने नगरपालिकाले जनाएको छ ।
जनतासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने, शङ्खरापुर नगरपालिकाको अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने, पर्यटक सूचना केन्द्र स्थापना गर्ने कार्यक्रम पनि नगरपालिकाले बनाएको छ ।–रासस
क्याटेगोरी : समाचार
ट्याग : #शङ्खरापुर नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्