Techie IT

खेलकुद

टोखा नगरपालिकाको दोस्रो नगर खेलकुद प्रतियोगिता जारी, ब्याडमिन्टन खेलका विजेतालाई प्रमाणपत्र वितरण

टोखा। टोखा नगरपालिकाको आयोजनामा दोस्रो नगर खेलकुद प्रतियोगिता–२०८३ संचालन भैरहेको छ। नगर प्रमुख प्रकाश अधिकारीले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले खेलाडीहरू उत्साहपूर्वक एकै ठाउँमा उपस्थित भएको देख्दा आफू अत्यन्तै हर्षित भएको बताउनुभयो। आफू पनि विगतमा फुटबल खेलाडी रहेको स्मरण गर्दै उहाँले खेलकुदप्रतिको आफ्नो रुचि र खेलाडी जीवनका अनुभव सुनाउनुभयो।

नगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, नगरपालिकाको अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण कार्य निकट भविष्यमै सम्पन्न हुने जानकारी दिँदै उक्त भवन सञ्चालनमा आएपछि खेलकुदलगायत विभिन्न गतिविधि सञ्चालन गर्न थप सहज हुने बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख मुरारी तामाङले आफू पनि विगतमा खेलाडी रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले खेलाडीको प्रोत्साहन र खेलकुद प्रवर्द्धनका लागि नगरपालिका तथा व्यक्तिगत रूपमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, अतिथि वडा नं। ८ का वडा अध्यक्ष रमेश खत्रीले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकासका साथै आर्थिक आत्मनिर्भरता र रोजगारीका अवसर सिर्जना गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा टोखा नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष एवं नगर खेलकुद समितिका संयोजक नरोत्तम रानाले पहिलो नगर खेलकुद प्रतियोगिताको तुलनामा दोस्रो संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र स्तरीय बनाउने प्रयास गरिएको बताउनुभयो। नगरभित्रका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन विदेश जानुपर्ने उत्कृष्ट खेलाडीको भ्रमण खर्चसमेत नगरपालिकाले व्यहोर्ने जानकारी दिनुभयो।

प्रतियोगिताअन्तर्गत कराते, तेक्वान्दो, फुटबल, बक्सिङ, , ब्याडमिन्टन, रग्बी, भलिबल, बास्केटबल तथा क्रिकेटलगायतका खेल विधा समावेश गरिएका छन्। विभिन्न खेल विधामार्फत नगरभित्रका खेल प्रतिभाको पहिचान, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद क्षेत्रको संस्थागत विकास गर्ने लक्ष्य राखिएको छ।

टोखा नगरपालिका वडा नं। ८ स्थित वडा कार्यालयको वादोकाई कराते भवनमा वादोकाई कराते प्रतियोगिताबाट खेलकुद महोत्सवको औपचारिक सुरुआत गरिएको थियो। प्रतियोगिता आगामी पुस महिनाभित्र अन्तरपालिका फुटबल प्रतियोगितासहित सम्पन्न हुने आयोजकले जनाएको छ।

यसैबीच, प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन खेलका खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। नगर खेलकुद समितिका संयोजक एवं टोखा नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष नरोत्तम रानाले एक कार्यक्रमका बीच खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो।

नगर खेलकुद प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, नयाँ प्रतिभाको पहिचान, खेलाडीको क्षमता अभिवृद्धि तथा विभिन्न वडाबीच आपसी एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमा खेलाडी उत्पादन गरी उनीहरूलाई जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले टोखा नगरपालिकाको खेलकुद क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र सबल बनाउने विश्वास लिइएको छ।

कमेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्