रारातालमा डुबेकी प्रेक्षा र दासढुंगामा खसेका मदन भण्डारी ज्यूँदै …
© स्वागत नेपाल
अचेल राराताल देख्दा
प्रेक्षाजस्तै डुबेर मर्न मन लाग्छ
आत्महत्या होइन मलाई
हाराकिरी गर्न मन लाग्छ
दासढुंगा भएर ओहोरदोहोर गर्दा
नारायणहिटीको तारो शितलनिवास सरेको देख्छु
मरेकाहरु सबै बाँचेको र,
बाँचेकाहरु सबै मरेको देख्छु ।
थाहा छैन समस्या
मनमा छ
कि मुटुमा छ,
डाक्टर टाउको
र पाइताला छाम्छ,
थाहा छैन उसलाई पनि
मलाई किन
गाडी झर्ने भीरहरुले
बोलाएजस्तो लाग्छ,
मेरो खुट्टाले
‘त्यता नजा त्यता नजा’ भन्छ
तर मनले किन उतैउतै ठेल्छ
थाहा छैन समस्या
मनमा छ कि मुटुमा छ
थाहा छैन समस्या
मेरो पेटमा छ
कि पित्तमा छ
रोग पिसाबमा भेटिन्छ
कि चित्तमा छ
डाक्टरलाई पनि थाहा छैन
ऊ रगत
र पिसाब जँचा भन्छ
थाहा छैन उसलाई पनि
मलाई किन
घडीको टिक्कटिक्क आवाजले
दिक्क लाग्छ
फ्यान झुण्डिएको फलाम देख्दा
आँखा नहटाई हेर्न मन लाग्छ,
यो कानमा के हो ?
एकतमासको आवाज
कतै नपढेको, नसुनेको,
अर्थ थाहा नभएको
शुरु शुरुमा सुन्नै डर लागेको
अहिले फेरि सुनिरहूँजस्तो
संसारको कसैले नसुन्ने
मैले मात्र सुनिरहने
अरु सबै आवाजलाई रोकिदिने
भूकम्पमा धर्ती कराएजस्तो
चिच्याहट पनि संगीतजस्तो
आक्रमण पनि पूजाजस्तो
आफैँलाई काट्दा पनि मायाजस्तो
आँसु पनि शीतल पानीजस्तो
किन मान्छेहरु गीत गाइरहँदा
म रुवावासी सुनिरहेछु
किन बाटोमा लास बोकेर
मलामीहरुले डाँको छोडिरहँदा
म मीठो संगीत बुझिरहेछु
किन मान्छेहरु खाना खाइरहँदा
म भोलि विहान
चर्पी जानुपर्ने दुःख सम्झिरहेछु,
किन निद्रालाई बीचबाटोमा भेटेर
गिडुँजस्तो लाग्छ
किन ट्युब लाइट र आगो टेकेर,
हिडुँजस्तो लाग्छ
किन आफ्नै आँखाहरु
सेकुवा पोल्ने राताराता झीरहरुले
घोचुँजस्तो लाग्छ ?
किन खसिरहेको पहिरोले पुरेको र
ढलिरहेको रुखले थिचेको मात्र
सोचुँजस्तो लाग्छ ?
थाहा छैन समस्या
मनमा छ कि मुटुमा छ
डाक्टर भन्छ
सिटी स्क्यान गर्नुपर्छ
किन प्रियजनहरु
आज मतिर
हतियार लिएर
आइरहेजस्तो लाग्छ
किन पूर्वजहरुका तस्वीर पनि
मेटाइदिऊँजस्तो लाग्छ,
किन औषधी बोकेर आउनेहरुलाई
मृत्युको सुई
लगाइदिऊँजस्तो लाग्छ
किन खुसी हुनु पर्ने कुरा हो भनेर
मान्छेहरुले मलाई दुःख हुने कुरा मात्र
सुनाउँछन्जस्तो लाग्छ
किन जन्म बेकार र मृत्यु सार लाग्छ ?
अचेल किन राराताल र दासढुंगा देख्दा
कयौँ प्रेक्षा र मदन भण्डारीहरुलाई
डुबेर मर्न मन लाग्छ
आत्महत्या होइन मलाई पनि
हाराकिरी गर्न मन लाग्छ
क्याटेगोरी : विचार/बहस
ट्याग : #दासढुंगा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्