विचार/अनुभूति

फेरियो व्यवस्था, फेरिएन अवस्था

एक पटक जंगलमा घुम्दै गर्दा बाख्राको जम्काभेट भोकाएको सिंहसित भएछ । सिंहलाई देख्नासाथ बाख्रा नानीदेखिको शक्ति लगाएर भाग्यो । अन्त्यमा एउटा सानो गुफाभित्र पस्न सफल भयो । उता बाख्रालाई लखेट्दै सिंह पनि बाख्रा लुकेको गुफासम्म त पुग्यो तर उसले बाख्रा कहाँ लुक्यो भन्ने पत्तो पाएन । ऊ थकाइले चूर भएर त्यतै आराम गर्न बस्न थाल्यो । उता बाख्रा गुफाभित्र बस्दै आफ्नो शरीरको बारेमा सोच विचार गर्न थाल्यो– ‘मेरो आँखाले मलाई संसार देखाएको छ । सिङले दुश्मनसंँग लड्न हतियारको काम दिन्छ । दाँतको सहायताले खाना खान्छु । मेरो कानले आवाज सुन्न मद्दत गर्छ । खुट्टाले हिँड्छु ।’

 

सोच्ने क्रममा उसले के पत्ता लगायो भने उसको शरीरको सबै अंगले कुनै न कुनै रुपमा महत्वपूर्ण काम गरिरहेको छ तर एउटा ‘पुच्छर’ मात्र हो, जसले उसलाई कुनै काम गर्न सहयोग गरेको छैन । उसले सोच्यो बेकारैमा मैले पुच्छरको भारी बोझ बोक्दै हिँडिरहेको रहेछु । यो काम न काजको पुच्छरलाई गुफाभित्र किन शरण दिने भन्दै सोचेर त्यो बाख्राले आफ्नो पुच्छर गुफा बाहिरै छोड्यो ।’ बाख्राको पुच्छर देख्ने बित्तिकै सिंहले पुच्छर तानेर बाख्रालाई गुफाबाट बाहिर निकाल्यो र मारेर खायो ।

 

नेपालमा नेता पनि त्यही बाख्राको पुच्छरजस्तै बनेका छन् । जब स्वतन्त्रता र स्वच्छन्दता बढी हुन्छ, तिनीहरुको औचित्य समाप्त भएजस्तो लाग्छ । अनि जब कतैबाट मुखमा बुझो हाल्ने प्रयत्न हुन्छ, त्यतिबेला तिनै नेता नामको चम्मर खोज्न मरिहत्ते हुन्छ । मुलुक राणा शासनबाट मुक्त भएपछि प्रजातान्त्रिक नेपालका ‘लोकप्रिय’ राजा त्रिभुवनले भनेका थिए– ‘जनताहरुद्वारा निर्वाचित हुने प्रतिनिधिहरुद्वारा बनाइने प्रजातान्त्रिक संविधानअनुसार शासित होउन भन्ने हाम्रो सदैवदेखिको इच्छा र संकल्प छ । हाम्रो देशको परिस्थितिमा सम्भव हुने यथाशक्य शीघ्रताको साथ संविधानसभाका लागि चुनाव गरिने प्रयत्न गरिदैछ । हाम्रो देशको संविधान त्यही हुनेछ । जुन यस संविधानसभाद्वारा तयार गरिनेछ ।’

 

 

राजा त्रिभुवनको यो सपना उनी बाँचुन्जेल पूरा हुने छाँटकाँट कतै देखिएन । उनका छोरा महेन्द्रले राजपाठ सम्हालेको चार वर्षपछि देशबासीका नाममा गरेको सम्बोधन यस्तो विरक्त लाग्दो थियो– ‘हालै इलेक्सन कमिसनबाट पेश भएको रिपोर्ट र मन्त्रिमण्डलबाट उक्त घोषित तिथिमा आमचुनाव हुन नसक्ने व्यहोरा उल्लेख गरी चुनाव यथाशक्य, यथाशीघ्र गराउन प्रयत्नशील हुनेछ भन्ने हाम्रो हजुरमा जाहेर हुन आएबाट सो घोषित तिथिमा चुनाव हुन नसक्ने भएको छ भनी आज फेरि घोषणा गर्नुपरेकोमा स्वभावतः हामीलाई जति खेद लागेको छ सो देशवासीलाई पनि भनिरहनुपर्ने कुरो छैन् ।’

 

५५ वर्षपछि गणतान्त्रिक मुलुकका दोस्रो राष्ट्रपति विद्या भण्डारीको हालत पनि दुरुस्त उस्तै थियो । त्यो बेला पनि राजा महेन्द्रले दलहरुलाई यस्तै नैतिकताको पाठ सिकाउँथे, जसरी भण्डारीले सिकाइरहेकी छन् । यी सवै घटनाक्रमले उब्जाएको एउटै प्रश्न हो– दशकौं एउटै रोटेपिङमा हामी किन मच्चिरहेका छौं ? कहिल्यै घिउ नलाग्ने धोका र कपटको राजनीतिक खेल कहिलेसम्म खेलिरहने ? यस विषयमा घोत्लिने समय धेरैपल्ट घर्किसकेको छ । अनि सधैं हात लाग्ने गरेको एउटै बस्तु हो– पश्चाताप ।

 

राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन् । रामायणकालिन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जोसंँग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसंँगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने  संकल्प गरे । आखिर आख्यानको त्यही हठी परशुराम पात्रका अवतारहरुले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन् ।  यी पात्रहरु कतै गुण्डागर्दीको कमाईमा कानुन आफनो मुट्ठीमा कैद गर्ने अघोरी त कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडिरहेका छन् । समाधानमा पनि समस्याको बखेडा झिक्नु यिनीहरुको खेलो फड्को बन्दै आएको छ । त्यतिबेलै किताब लेख्ने, स्वर्ग मत्र्य सुनको सिंढीले जोड्ने महत्वाकांक्षी रावण राक्षस बनाइए । तर सत्यको जामा लगाएका हामीमा त्यो रामराज्यदेखि यो रामराज्यसम्म आउँदा उही गरिवी, उही आर्तनाद छ ।

 

अहिले पनि रामका थुप्रै सीताहरु न्याय माग्न केपी राज्यको दैलोमा धाइरहेका छन् । मात्र शैली फेरिएको छ । हामीले टेकेको धरातल कति कमजोर छ भन्ने उदाहरण त दलीय नामको सिन्डिकेटले गर्ने निर्णयहरुबाट समेत प्रष्ट हुने गरेको छ । नेताहरुले संविधानलाई एउटा त्यस्तो अमूर्त बुटीका रुपमा व्याख्या गरेका छन् कि जसको प्राप्तिसंँगै सम्पूर्ण समस्या छू मन्तर हुने छन् । संघीयता त्यस्तो लुतो हो, जसले कम्तिमा डेढ दशक संक्रमणतर्फ देशलाई धकेल्छ । एउटा पुलिसको सिपाही सरुवा बढुवामा त विवेक राख्न नसक्ने राजनीतिक नेतृत्वले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, वित्तीय संघसंस्थाहरुको क्षेत्रीय स्वायत्तताको व्यवस्थापन कसरी गर्लान ? सोच्दा पनि कहाली लाग्छ । राज्यको जीवनमा गरिने सानो गल्तीले शाखा दरसन्तानको भविष्य अन्धकारमा धकेलिन्छ । देश रत्नपार्कमा बेच्न राखिएको ओखतीको विज्ञापन शैलीले चल्दैन । देशका योजनाले ५० वर्षपछि जन्मिनेको हक अधिकार सुरक्षित राख्ने हैसियत देखाउनु पर्छ ।

 

 

देशमा लोकतन्त्रको स्थापना त भइसकेको छ । तर यसको संस्थागत विकास र सुदृढीकरणका लागि यथेष्ट ज्ञान, सीप र चिन्तनको खाँचो छ । नेताले आफूलाई चोख्याउन बेलाबेला जप्ने मन्त्र बाहेक लोकतन्त्रका मूल्य, मान्यता र यसका मर्मका विषयमा आजसम्म कुनै दलसंग दस्तावेज छैन् । लोकतन्त्र नाम दिइएपनि एकदिन चुनावी नाटकबाहेक कुनै लोकतान्त्रिक अभ्यासमा जनताको सहभागिता छैन् । यही असहिष्णु शैली हावी भएकै कारण नालायकहरु देश चलाउने चुलो चौकामा पुग्दा स्वतन्त्रता स्वच्छन्दतामा रुपान्तरित भएर उल्टै लोकतन्त्रको मर्ममाथि डस्ने काम भइरहेको छ । सदाचारीमाथि व्यभिचारीको शासन अन्त्यका लागि भएको राजनीतिक परिवर्तन पनि अन्ततः नयाँ भाँडोमा पुरानो रक्सीकै छनक दिने परिघटना बाहेक केही हुन सकेन ।  पहिला एउटालाई फूपाती चढाए हुनेमा अहिले त चढाउँदा चढाउँदा रुखको पात के जराले पनि नभ्याउने अवस्था छ । टोले, झोले, कुण्डले, मण्डलेका डन बनेर दलका मुखियाहरुले राणा शासनकालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी कमान्डिङ जर्नेलहरुको झल्को दिने काम गर्दै आएका छन् ।

 

भनिरहनु पर्दैन थुप्रै कालखण्डमा जन्मिएका निरंकुशताको पर्दा च्यातिएपछि हामीले उन्मुक्तिको संसार पाएका हौं । यो स्वतन्त्र आकाश खोज्ने कयौं स्वतन्त्रता सेनानीहरुले पाएको यातना, नेल र हतकडीका डोबहरु अहिले पनि आलै छन । परिवर्तनको यो मोडसम्म आइपुग्दा असंख्य लडाकुहरुको बलिदानीको सट्टा यो अवसर प्राप्त भएको हो । लोकतन्त्र काख रितिएका आमाहरुको भरिलो आशा हो , सिन्दुर पुछिएका युवतीहरुको गौरवको प्रतिक हो, टुहुरा नानीहरुको अभिभावक हो अनि सहारा गुमाएका बाबुआमाको टेक्ने लौरो हो । समग्रमा मुलुक डोर्‍ याउने अनुशासनको डोरी हो लोकतन्त्र । राजनीति नामको कमण्डलु बोकेर हिँड्ने गरिब सोचका वर्णशंकर सन्तानले सामाजिक मूल्य, मान्यता र पद्दतिमा धावा बोल्दा लोकतन्त्रको अनुहार अमिबाजस्तै भएको छ । न पढ्नुपर्ने, न लोकसेवा लड्नुपर्ने, न कुनै दायित्वबोध गर्नुपर्ने बस् गरिदिए पुग्ने जागिर बनेको छ राजनीति । यसअघिका परिवर्तनले केही औंठा छापेलाई हैसियत दिंदा त्यो राजनीतिमा खोट देखाएर गणतन्त्रको यात्रा तय गरिएको थियो । तर अहिले त झन् गाउँका नामी कुखुरा चोर, भट्टीका दिग्विजयी ट्वाँके, हुल्याहा, बताहाहरु सत्ताको केन्द्रविन्दुमा पुगेका छन् ।

 

एक दशक त यो देशमा मान्छे मार्ने खेती चल्यो । मन्दिरका गजुरदेखि पुजारीका शिरसम्म उडाइए । पानी र रगतको भेद छुटिएन । कुट्ने, काट्ने, रेट्ने, चोर्ने जस्ता नेपाली शब्दकोशमा भएका सम्पूर्ण नराम्रा र अप्रिय शब्दावलीले राजनीतिको आवरणमा सक्कलै अभ्यास भए । यी सबै कुकर्मबीच पनि नेपाली समाजभित्रको आत्मीय चुरो हल्लिएन । छिमेकी भनेको सहयोगी हैन, शत्रु हो भन्ने तालिवानी भूत नेपाली मानसिकतामा पार्न अतिसय प्रयास भयो । तर हजारौं वर्षदेखि जीविकासंँग जोडिएको घाँस दाउरा, अन्नपानीको ऐंचोपैंचो र पर्मको अभ्यासले एकले अर्कालाई अड्यायो । जेरी संस्कृतिको प्रतापले त्यस्तो कठिन परिस्थिति पछि पनि समाज रंगहीन, ढंगहीन हुनबाट बच्यो । थिचिएका आस्था र सद्भाव शान्तिको पारिलो घाम पाउने वित्तिक्कै हलक्क मौलाए । जनताले थिति ठेगान छोडेनन भने नेताको चुरीफुरी बत्तीमा घुमेको पुतलीभन्दा पर हुनै सक्दैन भन्ने तथ्यको परिणाम हो यो । जब मानिसलाई देवत्वको कोटीमा पुर्‍ याइन्छ, अनि त्यो देवताको प्रतिष्ठा स्खलित हुँदै मानिसले ढुंगामुडाको अक्षता पातीले पुज्नुपर्ने अवस्था आयो भने त्यो जस्तो विभत्स अवस्था कुन होला र ? राजनीतिमा नैतिकता हराएका दिन अरु केही बाँकी रहँदैन ।

 

नैतिकता रह्यो भने राजनीतिकर्मी जोगी भएपनि उसको प्रतिष्ठा घट्दैन, बरु बढ्छ । भगवान विश्वासिला छैनन् भने जतिसुकै भव्य मन्दिर बनाए पनि भक्तले पाइला टेक्दैनन् तर भगवान विश्वासिला छन् भने अक्करे भीर नै किन नहोस् कम्मरमा डोरी बाँधेर पनि ती देवतालाई भक्तले अक्षता पाती चढाएरै छोड्छन् ।
sanketkoirala07@gmail.com

Facebook Comments
Tags
Show More