Techie IT
शुक्रबार, वैशाख ७,२०८१

देश बनाउने राजा : पृथ्वीनारायण साह


हरि तिमिल्सिना

पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) एक शाहबंशीय राजा थिए। नेपाल एकीकरणका महाननायक पृथ्वीनारायण शाह राजा मात्र थियनन्, वहाँलाई राजा मात्र भनी बोलाउदा उहाँको परिचय प्रयाप्त हुँदैन। उहाँलाई बृहत रुपमा प्रस्तुत गरिनुपर्छ, उहाँको महान गाथा एवं साहसिक कार्यलाई गर्वका साथ संसारभर फैलाउन पर्छ।नेपाल एकीकरणका महान अभियान्त पृथ्वीनारायण शाहलाई नेपालीले श्रद्धाका साथ पुज्नु पर्छ।पृथ्वीनारायण शाहको कारण नै अाज हामि अाफुलाई नेपाली भन्न र नेपालमा बस्न पाएका हौं ।

स-साना राज्यहरुमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। वहाँको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। राष्ट्र निर्माताको दुरदर्शिता, राष्ट्रियता, विभिन्न जातजाति प्रतिको सम्मान, धर्म प्रतिको सम्मान, देशको भौगोलिक विविधताको रक्षा, छिमेकी राष्ट्रहरु प्रतिको कुटनैतिकता, अार्थिक र सामाजिक विषयहरुको ज्ञान हेर्दा वहाँलाई एक कुसल राजनेता भन्दा फरक नपर्ला।

वहाँलाई केही अपव्याख्याकारहरुले अनेकौं लाल्छना लगाइ गाली गलोज गरेता पनि नेपाल देशलाई स्वाबलम्बी तथा स्वाभिमानि बनाउने उनी मात्र थिय। जसरी जर्मनीको एकीकरणमा बिस्मार्क, इटालीको एकीकरणमा कावुर, मेजिनी र गौरीवाल्डी र अमेरिकाको स्वतन्त्रता र एकीकरणमा जर्ज वासिङ्टन र अब्राहम लिङ्कन एवम् भारतको एकीकरण र बस्वतन्त्रतामा सम्राट अशोक, महात्मा गान्धी र चीनमा छिन ह्वाङ्ती र सनयातसेनको एकीकरण र स्वतन्त्रतामा योगदान छ, त्यस्तै नेपालको एकीकरणमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान छ ।

नेपालले कहिले स्वतन्त्रता दिवस मनाएन यसको प्रमुख कारण पनि पृथ्वीनारायण शाह नै थिय।

भारत उतिबेला इस्ट ईन्डिया कम्पनीको उपनिवेशमा थियो।अङ्ग्रेजहरु साम्राज्यवादी नीति बोकेर भारत छिरेका थिय र पछि भारतमा राज गर्न थालेका थिय। भारतमा साम्राज्य बनाई सकेका अङ्ग्रेजहरुको नजर नेपाल माथि पनि थियो।उनिहरुको नितिबारे पृथ्वीनारायण शाहलाई अवगत थियो,अङ्ग्रेजहरु विभिन्न वहानामा नेपाल पस्न चाहन्थे।नुवाकोट,नगरकोट,दहचोक र किर्तिपुर पछि पृथ्वीनारायण शाह काठमाडौं(कान्तिपुर)लाई पनि एकीकरण गर्ने योजनामा थिय।तेतिबेला काठमाडौंमा अन्तिम मल्ल राजा जयप्रकाश मल्लले राज गर्थें।

अङ्ग्रेजहरुलाई जयप्रकाश मल्लले सहयोगका लागि गुहारेका थिय, जयप्रकाशलाई सहयोग गर्ने र नेपाल भित्रने यो अवसर अङ्ग्रेजहरुले पाएका थिय।पृथ्वीनारायण शाहले उनिहरुको योजनालाई
विसं १८२४ आश्विन १५ मा बिफल बनाईदिईका थिय।

सिन्धुलीगढीलाई चारैतिरबाट घेरा हाली आक्रमण गरेर काठमाडौँका राजा जयप्रकाश मल्लको सहयोगार्थ आएका अङ्ग्रेजी फौजलाई परास्त गरेर भगाएका थिय। यसको ठिक एक बर्षपछि विसं १८२५ आश्विन १५ गतेका दिन कान्तिपुर (काठमाडौँ) माथि गोर्खाली फौजले सजिलैसित विजय हासिल गर्यो । यसको केही समयपछि ललितपुर र भक्तपुर पनि नेपालमा गाभियो।

विसं १८३० साउनमा चौदण्डी माझकिरात र पल्लोकिरात प्रदेशलाई पनि एकीकरण गरियो । पूर्वी तराईका सप्तरी, सिरहा, महोत्तरी र मोरङ प्रदेशहरू चौदण्डी राज्यअन्तर्गत थियो । चौदण्डीका अन्तिम राजा कर्णसेनलाई हराई त्यसअन्तर्गतका समस्त तराई क्षेत्र नेपाल अधिराज्यमा गाभियो । यसरी पृथ्वीनारायण शाहबाट बडो बुद्धिमत्ता र रणकौशलताबाट नेपाल राष्ट्रनिर्माण भयो ।

उहाँले पहाडी प्रदेशको राजामा मात्र सीमित नभई, तराई प्रदेशका समेत राजा भई एउटा साझा नेपालका साझा राजाका रूपमा आफूलाई स्थापित गर्नुभयो । त्यसैले यो सबै जातको साझा फूलबारी हो भनेर सबै जातका साझा राजाका रूपमा परिचय दिने काम पृथ्वीनारायण शाहबाट भयो ।

विजित राज्यका जनतामाथि आफ्नो भाषा र संस्कृति लाद्ने काम गर्नुभएन । स्थानीय जनताको भाषा, संस्कृति, परम्परा, रीतिरिवाजलाई मान्यता दिई, त्यसलाई राष्ट्रिय स्वरूप प्रदान गर्नुभयो, जस्तो कि काठमाडौँ उपत्यकालाई विजय गरेपछि नेवारी भाषा, संस्कृति, कला, नाचगानलाई प्रोत्साहन दिएर उदारता देखाउनुभयो ।

उहाँको दिव्य उपदेशमा ‘‘आफ्ना सोखसयललाई त….. बमोजिमको तीनै सहर नेपालका नेवारहरूका नाच झिकाई हेरे पनि हुन्छ । यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ । यसाने भए आफ्नो देश सुरक्षित रहन्छ । ” यसरी स्थानीय संस्कृतिलाई बढावा दिई राष्ट्रियताको सन्देश प्रवाहित गर्नुभयो ।
पृथ्वीनारायण शाहले नेपालीकालागि सिङ्गो र अखण्ड नेपाल मात्र छाडेर जानुभएन वहाँले अाफ्नो जीवन भोगाइमा पाउनु भएको दिब्य ज्ञान पनि छाडेर जानुभयो।जस्लाइ अाजको दिनमा दिव्य उपदेश भनेर चिनिन्छ। वहाँका दिव्य उपदेशहरु दुरदर्शि छन् ।वहाँको दिव्य उपदेशले कसैलाई विभेद गरेको छैन, देश चलाउने शासक,जनता,कर्मचारी सबै वर्ग,जाताजातिलाई समेटिएको छ।
उहाँले आफ्नो दिव्योपदेशमा, ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिजा कंगाल गरी छाड्दछन्’ अर्थात् देश (हिन्दुस्तान) का महाजन, व्यापारीहरूलाई सिमानादेखि माथि आउन आउन् नदिनु, यदी हाम्रा मुलुकमा आयो भने कंगाल गरिछाड्दछन् । विदेशी महाजन आयो भने स्वदेशी उद्योग तथा व्यापारमात्र होइन, देशको अर्थतन्त्रलाई सखाप पार्नेछ भनी दिव्योपदेशको भावार्थ रहेको छ ।

राष्ट्र निर्मातालाई बद्नाम गरि बिदेशीका इशारामा नेपाललाई विखण्डन तर्फ लैजान चाहनेहरुले उहाँलाई संकुचित बिचारले व्यख्या गर्ने गरेका छन्,कसैकसैले उहाँलाई विस्तारवादीको संज्ञा पनि दिन्छन् तर उनको यस्तो नीति भएको भए यस मुलुकको नाम नेपाल नराखेर गोरखा नै हुन्थ्यो होला ।

त्यतिमात्र नभई, राष्ट्रिय एकीकरणपछि उहाँले ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया” भनी राष्ट्रियताको बीजारोपण गर्नुभएको थियो ।राष्ट्र निर्माताले नेपाल राष्ट्रलाई सबै जातजातिको साझा फूलबारीको संज्ञा दिई लोकतन्त्र र समानताको उद्घोष पनि गर्नुभयो ।

मुलुकलाई विधिसम्मत तथा प्रजातान्त्रिक तवरले सञ्चालन गर्न थिति बाँध्नु पनि पृथ्वीनारायणको ध्येय थियो । निरङ्कुश, सामन्ती र स्वेच्छाचारी शासनशैली र पद्धतिको विपक्षमा हुनुहुन्थ्यो । उहाँ गतिशील लोकतन्त्रमुखी संवैधानिक राजतन्त्रका पक्षपाती थिए ।

त्यसैले उहाँले ‘उप्रान्त राजा रामशाहले बाँध्यको थिति हेरि सके राजा जय स्थिति मल्लले बाँध्यको थिति हेरि सके राजा महेन्द्र मल्लले वाँध्यको थिति पनि हेरि सके ईश्वर दियो भन्या म पनि यस्ता वन्देज बाछ हजारको थिति बाँधि जाला भन्या अभिलाषा थियो र निञाशास्त्र बमोजिम अदालतथ चलाउनु’ भनी उहाँको कथनले सम्पूर्ण विधिअनुसार राज्य व्यवस्था र कानुनी राज्य सञ्चालन गर्न मनस्थितिमा थिए भन्न सकिन्छ । एक प्रसङ्गमा उहाँले आफूले मनपराएको व्यक्तिलाई भारदार नबनाई जनताले रुचाएको व्यक्तिलाई भारदारी प्रदान गर्नुले उहाँमा रहेको प्रजातान्त्रिक भावना स्पष्ट हुन्छ ।

उहाँले ‘‘प्रजा मोटा भया दरवार बलियो हुन्छ र राजाका भण्डार भन्याका रैतानहरू हुन्” भनी जस्ता जनता (प्रजा) लाई बलियो अर्थात् धनी सम्पन्न बनाउन चाहन्थे, जसले गर्दा दरबार बलियो हुन्छ साथै राजाको भण्डार भनेको रैतान (जनता) हुन् ।

जनताको सम्पन्नता नै राजाका भण्डार अर्थात सम्पत्ति हुन् भन्ने उहाँको विचार थियो । त्यस्तै ‘‘निजा निसाप विगान्र्या भन्याको घुस दिन्या र घुस षान्या इन दुइको ता धनजीव गरीलियाको पनि पाप छैन ई राजाका महासतुर हुन” भनी दिव्योपदेशमा भन्नुभएको थियो । अर्थात् न्याय इन्साफ विगारेर घुस दिने र घुस खाने दुईवटैको धन र जीउहरण गरेपनि पाप लागने छैन, किनभने यी राजा र देशका महाशत्रु हुन् ।
यसरी अढाई सय वर्षअघि मुलुकमा भ्रष्टाचार र घुसखोरी प्रथाको अन्त्य गर्न उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो । जो अहिलेको लोकतान्त्रिक नेपालको सन्दर्भमा पनि उपयुक्त छन् । नेपालका शासक र सत्तासीनहरूबाटै भ्रष्टाचारले संस्थागत रूप लिन थालेकोमा उहाँको दिव्योपदेश अहिले निकै मर्मस्पर्शी छ ।
उहाँले ‘‘उप्रान्त यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेको छ, चीन वादशाहसित ठुलो घाहा राषनु, दषिनको समुद्रको वादशाहसित घाहा राषनु तर यो महाचतुर छ” भनी दिव्योपदेशले नेपालको असंलग्न परराष्ट्रनीतिको आधार स्तम्भ हो । अर्थात् दुई ढ्ङ्गाबीचको तरुल भनेको चीन र भारतजस्तो दुई देशको बीच स्थित छ ।

दुवैसित समान सम्बन्ध राख्नुपर्दछ । एउटासित विशेष सम्बन्ध र अर्काेसित औपचारिक सम्बन्ध नराखी समदूरीको सिद्धान्तमा सम्बन्ध राख्नुपर्दछ । दुवै देशबीच सन्तुलन बनाइराख्नुपर्दछ ।

यसरी परराष्ट्र नीतिको जग राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा नै शिलान्यास गरिएको मान्नुपर्दछ ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका मार्मिक दिव्योपदेशहरू नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न उनको सन्देश आज पनि त्यत्तिकै सान्दर्भिक मान्न सकिन्छ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #Prithuvi shah


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Fair
5:34 am6:30 pm +0545