Techie IT
सोमबार, चैत्र १०,२०८१

मदन आश्रित स्मृति दिवस ः मुलुकको मुहार बदल्ने सङ्कल्प


काठमाडौँ, ३ जेठ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित रहेको जनाउनुभएको छ ।

२७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा आज वक्तव्य जारी गरी उहाँहरुले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाहरुको विश्लेषण गर्दै वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरेको उल्लेख गर्नुभएको छ ।

“थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएका छन् । प्राप्त यस ऐतिहासिक एवं दूर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित रहेको छ ।” वक्तव्यमा भनिएको छ । विसं. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको निधन भएको थियो ।

मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक २ वर्ष अगाडि २०७५ साल जेठ ३ गते हामीले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण भएको थियो ।

दिवंगत भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउनुभएको उल्लेख गर्दै वक्तव्यमा लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताहरूलाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थिति अनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रबादका आधारमा राष्ट्रिय हीतको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक संघर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको स्मरण गर्नुभएको छ ।

उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको र आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दूर्घटना मान्न तयार नरहेको भन्दै विज्ञप्तिमा नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिने गरेको जनाइएको छ ।

“माक्र्सवाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिक कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेका छन् । स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका संघर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यो पार्टी आज जनादेश प्राप्त गरेर राज्य सञ्चालनको केन्द्रीय भूमिकामा स्थापित भएको छ ।” विज्ञप्तिमा भनिएको छ, “आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षता जस्ता उपलब्धीहरू हासिल भएका छन् । यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ ।”

विज्ञप्तिमा पार्टीले जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्ने र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्ने विषयलाई तात्कालिक लक्ष्यका रूपमा निर्धारण गरेको छ ।

दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्ने, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सवै अवशेषहरूलाई समाप्त गर्ने र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न केन्द्रित रहेको जनाइएको छ ।

स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत संगठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै हामीलाई यो ऐतिहासिक दायित्व पूरा गर्ने सामथ्र्य प्रदान गर्दछ भन्ने यथार्थप्रति पार्टी स्पष्ट छ पनि भनिएको छ ।

एकीकरण यताका दुई बर्ष बीचमा हामीले पार्टीको संगठनात्मक एकीकरणलाई आधारभूत रूपमा सम्पन्न गरेका छौँ ।

केन्द्रीय कमिटीको निर्णय अनुसार ‘पार्टी एकता सदृढीकरण र जन–सम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोभिड १९ (कोरोना भाइरस) महामारीका कारण प्रभावित भएको जनाउँदै अब पनि एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्नमा केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #मदन–आश्रित स्मृति दिवस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
6:01 am6:18 pm +0545