Techie IT
आईतबार, चैत्र १,२०८२

चितवनमा मतगणना स्थल १० फिट अग्लो तारजालीले सुरक्षित


चितवनमा प्रतिनिधि सभा निर्वाचनको मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन १० फिट अग्लो तारजालीसहितको व्यवस्था गरिएको छ।

मुख्य निर्वाचन अधिकृत न्यायाधीश केदार पौडेलका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा मतपत्र सुरक्षित राख्ने उद्देश्यले तारजाली लगाएर मतगणना स्थल तयार पारिएको हो।

निर्वाचन क्षेत्र नम्बर १ को मतगणना खैरहनीस्थित भुवानीशंकर कलेजमा, क्षेत्र नम्बर २ को उद्योग संघ चितवनको प्रदर्शनी स्थलमा तथा क्षेत्र नम्बर ३ को रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तोकिएको छ।

मतपत्र सुरक्षित रहोस् भन्ने सुनिश्चित गर्न तारजालीको व्यवस्था गरिएको पौडेलले जानकारी दिए। विद्युत आपूर्ति सहज बनाउन तारजाली अगाडि चार्ज हुने बत्ती जडान गरिएको छ भने मतगणना परिसरमा सिसी क्यामेरा समेत राखिएको छ।

मतगणनाको क्रममा कर्मचारी र सुरक्षाकर्मी बाहेक अन्य कसैलाई तारजालीभित्र प्रवेश गर्न नदिने व्यवस्था गरिएको छ। उम्मेदवारका प्रतिनिधि तथा सरोकारवालालाई भने तारजाली बाहिरबाट अवलोकन गर्न दिइनेछ।

२०७४ सालको स्थानीय तह निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनापछि चितवनमा मतगणना स्थलमा तारजाली लगाएर व्यवस्थापन गर्ने अभ्यास सुरु गरिएको हो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्