खानेपानी मुहान नदिएको विरोधमा सडक अवरुद्ध

फिदिम, असार १० गते । फिदिम–१० र फालेलुङ–८ का उपभोक्ताले खानेपानी माग्दै आन्दोलन गरेका छन् । उनीहरूले सडकमा रित्तो गाग्री र प्लेकार्ड राखेर आन्दोलन थालेका हुन् ।
त्यहाँका उपभोक्ताले फालेलुङ–७ सिदिनस्थित प्युरेखोला मुहान भएर फिदिम–१० र फालेलुङ–८ का नागरिकलाई पानी वितरण गर्न लागिए पनि काम सक्ने बेलामा मुहान क्षेत्रका नागरिकले अवरोध गरेको भन्दै आइतबार आकासेभन्ज्याङमा रित्ता गाग्री र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् । आन्दोलनमा करिब दुई सय नागरिक सहभागी थिए । उनीहरूको आन्दोलनका कारण फिदिमबाट फालेलुङतर्फ र फालेलुङबाट फिदिमतर्फ आउने सबै खालका सवारीसाधन आवागमन ठप्प भएका छन् ।
दुई वटा वडाका एक हजार २११ घरधुरीलाई खानेपानी सुविधा दिन २०७९ साल साउन ४ गतेदेखि सुरु गरेर आयोजनाको ८० प्रतिशतभन्दा धेरै काम सकिसके पनि त्यस क्षेत्रका नागरिकको अवरोधका कारण काम सम्पन्न हुन नसकेको उपभोक्ता समितिका अध्यक्ष सिकुमहाङ जबेगूले बताउनुभएको छ । समितिले फिदिम–१० का वडाध्यक्ष होमराज थाम्सुहाङ र फालेलुङ–८ का वडाध्यक्ष श्रीहाङ केरुङको उपस्थितिमा केही दिनअघि फिदिममा पत्रकार सम्मेलन गर्दै सुक्खा क्षेत्रका नागरिकलाई खानेपानी उपलब्ध गराउन थालिएको आयोजनामा पटक पटक अवरोध भए पनि समाधानका लागि सरोकारवाला पक्षले वार्ता अगाडि नबढाएको गुनासो पोखेका थिए ।
उनीहरूले असार ८ गतेभित्र आयोजनाको विवाद मिलाउन भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरसहित जिल्लाका राजनीतिक दल र प्रहरीलाई ज्ञापनपत्र दिएका थिए । आफ्नो मागको सुनुवाइ नभएको भन्दै आन्दोलन सुरु गरिएको अध्यक्ष जबेगूको भनाइ छ । अब पनि मागको सम्बोधन नभए फिदिमबाट फालेलुङ जाने विद्युत् र इन्टरनेट सेवा अवरुद्व गर्दै चरणबद्व आन्दोलन चकाउने समेत उपभोक्ताले चेतावनी दिएका छन् ।
सुक्खा क्षेत्रका रूपमा परिचित फिदिम–१० र फालेलुङ–८ का उपभोक्तालाई पानीको सुविधा दिने उद्देश्यले सङ्घीय सरकारको लगानीमा आयोजना सुरु गरिएको थियो जसको लागत १३ करोड ६० लाख ९१ हजार ६८६ रुपियाँ छ ।
असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि फालेलुङ–७ का स्थानीयको अवरोधका कारण मुहान क्षेत्रमा केही काम हुन बाँकी छ । प्युरेखोला मुहानबाट खानेपानी लैजाँदा त्यस क्षेत्रका नागरिकलाई पिउने पानी र सिँचाइमा समस्या हुने फालेलुङ–७ का नागरिकको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #खानेपानी मुहान नदिएको विरोधमा सडक अवरुद्ध
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्