Techie IT
बिहीबार, साउन १०,२०८१

महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबलाई


पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ ।

पोखरा क्रिकेट मैदानमा मङ्गलवार भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो । पुलिसले डेब्यु प्रतियोगितामै ऐतिहासिक स्वर्ण पदक जितेको हो ।

पुलिसले पहिलो पटक राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट टोली बनाएको थियो । पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो ।

एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो ।

पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् । कविता जोशीले अविजित १३ रनको ईनिङ खेल्दा कविता कुँवरले ११ रन जोडिन् ।

कप्तान रुबिना क्षेत्रीले ८ रन जोड्दा अप्सरी बेगमले अविजित २ रन बनाइन् । एपीएफका लागि नेरी थापा, इन्दु बर्मा र कप्तान सिता राना मगरले समान १/१ विकेट लिए ।

प्रतियोगितामा एपीएफ रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबलाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Light Rain
5:23 am6:57 pm +0545