डेंगुका विरामीको राम्रो उपचार व्यवस्था र प्रकोप नियन्त्रण गर्न एमालेको माग
काठमाडौं । नेकपा (एमाले) ले देशव्यापी रूपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि जुन तहको योजना र कार्यक्रम ल्याउनुपर्थ्यो त्यस कार्यमा सरकार चुकेको भन्दै विरामीको उपचारमा सरकारी संयन्त्र असफल भएको जनाएको छ ।
पार्टीका सचिव, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी डेंगु रोग देशव्यापी फैलिएर उत्पन्न भएको स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
नेकपा (एमाले) ले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी\गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधी सहज उपलब्ध गराउन राज्यसँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘२०७९ साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्याङ्कअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरूको संख्या योभन्दा निक्कै धेरै रहेको छ । डेंगुुबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगको लक्षण फैलिएको छ ।’
‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’
विज्ञप्तिमा नेकपा (एमाले) का सांसदहरूले साउन महिनामै व्यवस्थापिका संसदमा ठोस योजना र कार्यक्रमसहित डेंगु रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको उल्लेख गरिएको छ ।
‘स्वास्थ्य संस्थामा विरामीहरूका लागि बेड छैन । हजारौंको संख्यामा विरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन् । स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपा (एमाले) ले विज्ञप्तिमार्फत पार्टीका तहगत कमिटी तथा जनसंगठन र पार्टी सदस्यहरूलाई डेंगु रोग नियन्त्रणमा योगदान गर्न आह्वान गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #डेंगु रोग, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्