Techie IT
सोमबार, वैशाख २९,२०८२

एसपिपिबारे अविलम्ब पत्राचार गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको पुनः निर्देशन


काठमाडौँ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपि)का सम्बन्धमा नेपालको सहभागिता नरहने सरकारको निर्णय अविलम्ब अमेरिकालाई पत्राचार गर्न पुनः निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदहरुले एसपिपिका सम्बन्धमा पत्राचार नहुनुका कारणबारे समितिको ध्यानाकर्षण गराएपछि समितिको बैठकले त्यसबारे पत्राचार गर्न पुनः निर्देशन दिएको हो ।

सांसदहरूको ध्यानाकर्षणपछि बैठकलाई सम्बोधन गर्दै समितिकी सभापति पवित्रा निरौला खरेलले एसपिपिका सम्बन्धमा सम्पूर्ण कागजातको छाँया प्रति समितिलाई उपलब्ध गराउन समितिले रक्षा मन्त्रालयलाई पुनः पत्राचार गर्ने र त्यसको जवाफ आएपछि छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।

सभापति खरेलले समितिको बैठकमा प्रधानमन्त्रीलाई दुई पटकसम्म बोलाइएको भए पनि उपस्थित हुन नसक्नु भएकाले समितिले पुनः उहाँलाई बोलाउने र एसपिपिका सम्बन्धमा प्रधानमन्त्रीले समितिलाई स्पष्ट पार्नुपर्ने पनि बताउनुभयो ।

छलफलमा भाग लिँदै समितिका सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एसपिपिमा नेपाल सहभागी नहुने सरकारले निर्णय गरिसकेकाले सोको पत्र अमेरिकालाई पठाउन ढिलाइ गरेको विषयमा परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले कुनै किसिमको सैन्य गठबन्धनमा नेपाल सहभागी हुन नहुने कुरामा सबै स्पष्ट हुनुपर्ने भन्दै पाँच दलीय गठबन्धनको सरकारले त्यस्तो कुनै किसिमको निर्णय नगरेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले एसपिपिबारे सन् २०१५ देखि नै पत्राचार गरिएका कुराहरू उठिरहेकाले त्यससम्बन्धी हाल सम्मका कागजातहरूको अध्ययन र छलफल गरी स्पष्ट हुनु आवश्यक रहेको बताउनुभयो ।

बैठकमा समितिका सदस्य एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसपिपिका सम्बन्धमा अमेरिकालाई हालसम्म पत्राचार नगरिनु खेदजनक भएको बताउनुभयो ।

यस्तै समितिका सदस्य एवं अर्का पूर्व उपप्रधानमन्त्री भीम रावलले एसपिपिमा नेपाल सहभागी नहुने जानकारीको पत्र अमेरिकालाई पठाउन ढिलाइ हुनुको कारण सम्बद्ध निकायले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

यसैगरी समितिका सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एसपिपिमा सहभागी नहुने सरकारको आधिकारिक निर्णय आइसकेकाले यस विषयमा अनेक भ्रमित चर्चा, परिचर्चा गर्नुभन्दा भए, गरेका कामको दस्ताबेज झिकाएर स्पष्ट हुनु जरुरी रहेको बताउनुभयो ।

बैठकमा सांसदहरु सरलाकुमारी यादव, मोहन बाँनिया, सुजिता शाक्य, लीलादेवी सिटौला, दीपकप्रकाश भट्ट, रेनुका गुरुङ लगायतले एसपिपिबारे अविलम्ब अमेरिकालाई पत्राचार गरिनुपर्ने र प्रधानसेनापतिले अस्ट्रेलियाको एक कार्यक्रममा सहभागी भएकोबारे समितिलाई स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #अन्तर्राष्ट्रिय सम्बन्ध समिति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:14 am6:45 pm +0545