सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको बुधवार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ ।
बजेट माथिको छलफल सकिएपछि गए राति ८ः४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आव २०७९/८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।
यसअघि बजेटको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिनु हुँदै मन्त्री रावलले बजेटका विषयमा आएका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बजेटका बारेमा प्रदेशसभा सदस्यले गरेको असन्तुष्टिका कारण सदन सञ्चालन अवरुद्ध भइरहँदा बुधवार प्रदेश सरकार र प्रतिपक्षी नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच लिखित सहमति भएसँगै बजेट माथिको छलफल सुरु भएको थियो ।
सरकारले यही असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट पेस गरेको थियो । बुधवारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले डडेलधुरा जिल्ला प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पदबाट राजीनामा दिनुभएकोले नेपालको संविधान र सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम उक्त प्रदेशसभा सदस्य रिक्त रहेको ब्यहोरा सदनलाई जानकारी गराउनुभयो ।
नेपाली कांग्रेस पार्टीले कारबाही गरेको अवस्थामा नैतिकताका आधारमा प्रदेशसभा सदस्य पदमा बसिरहन नमिल्ने भनी उहाँले राजीनामा स्वीकृत गराउने व्यवस्था गरिदिन सभामुखसमक्ष यही असार १३ गते राजीनामा पत्र पेस गर्नुभएको थियो । विसं २०७४ मा सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसको तर्फबाट मल्लसहित चार जना निर्वाचित हुनुभएको थियो । मल्लको राजीनामासँगै प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित कांग्रेसका प्रदेशसभामा अब ११ सदस्य छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेशसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्