पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द
नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।
फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले आज जारी गरेको सूचनामा उल्लेख छ ।
सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने उहाँले बताउनुभयो । पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ ।
यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर विसं २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो ।
अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले त्यसबेला विरोधसमेत जनाएका थिए ।
मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पशुपति क्षेत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्