जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँका अनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एक/दुई साताको तालीम आवश्यकपर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।” भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देृशक भट्टराईले बताउनुभयो । उहाँका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उहाँको भनाइ छ । कम्प्युटरबाट नियन्त्रण हुने सो रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ ।
रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उहाँले बताउनुभयो । कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उहाँको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उहाँले जानकारी दिनुभयो । रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए ।
कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ । नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेश गरिएको उहाँले बताउनुभयो । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो । दुई सरकारबीचको सम्झौताबाट उनीहरुलाई ल्याउन लागिएको हो । उहाँले भन्नुभयो, “यताको कम्पनी र उताको कम्पनीबीच सम्झौताबाट ल्याइन लागिएको हो ।” रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको छ ।
रेल्वेसम्बन्धी ऐन, २०२० पुरानो भएकाले नयाँ विधेयक संसद्मा छ । रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।
नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ ।
कुर्थादेखि विजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जनकपुर–जयनगर रेल
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्