उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा

नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानूनी प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।
“किसानसँग जाहेरी लिई, पक्राउ पूर्जीसमेत जारी भइसकेको छ, ठगी मुद्दामा कारवाही अघि बढ्छ”, प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले भन्नुभयो, “उहाँले अहिलेसम्म पक्राउ भएको भन्ने जानकारी नआएको बताउनुभयो ।” सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् । पटकपटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान पुनः काठमाडौँ आएर आन्दोलन चलाइरहेका छन् ।
सोही विषयमा मङ्गलबार गृहमन्त्री राबहादुर थापासहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीसहितको बैठक बसेको थियो । बैठकले उनीहरुलाई पक्राउ गरी कारवाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि गरेको परिपत्रअनुसार प्रहरीले आवश्यक कानूनी प्रक्रिया अघि बढाएको हो ।
कानूनी कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढेपछि केही मिल सञ्चालकले भने रकम जम्मा गरेको भन्ने जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । नतिर्नेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई स्पष्ट निर्देशन गरिएको उहाँले बताउनुभयो । गत वर्ष उखु किसान आन्दोलित भएपछि माग सम्बोधन गर्नेगरी सहमति भएको थियो । उक्त सहमति पूरा नभएपछि किसान पुनः आन्दोलित भएका हुन् ।
प्रतिनिधिसभाका सांसदहरुले किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उखु किसान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्