अध्यादेश पछि उत्कर्षमा पुगेको नेकपाको विवाद केही मत्थर

काठमाडौं, २ पुस । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एक्कासि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्कर्षमा पुगेको नेकपाको विवाद बुधबार केही मत्थर भएको छ ।
बुधबार सम्पन्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र सरकारविरुद्ध ल्याउन लागिएको संसद्को विशेष अधिवेशन बोलाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता नगर्ने निर्णय गरेको छ ।
यी दुई निर्णयसँगै नेकपामा देखिएको संकट तत्काललाई टरेको छ । यसबाहेक नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालले ल्याएको राजनीतिक प्रतिवेदनलाई समेत फिर्ता लिएर संयुक्त प्रस्ताव तयार गर्ने सम्बन्धमा दुई अध्यक्षबीच अनौपचारिक समझदारी भएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता गर्ने र अधिवेशन बोलाउन दर्ता गर्न लागिएको प्रस्ताव रोक्ने निर्णय गरेको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकले पार्टीमा देखिएका समस्या छलफलमार्फत समाधान गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले अध्यादेश जारी भए पनि मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले नियुक्तिका लागि कुनै सिफारिस नगरेको जानकारी गराएका थिए । मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सो अध्यादेश जारी भएपछि नेकपाको संकट झनै गहिरिएको थियो भने सरकारको आलोचना भएको थियो ।
अध्यादेश जारी भएपछि नेकपाका असन्तुष्ट नेताहरू संसद्को विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा प्रस्ताव दर्ता गर्न पुगेका थिए । तर पार्टीको निर्णयअनुसार सो प्रस्ताव दर्ता गर्ने प्रक्रिया रोकिएको हो ।
स्थायी कमिटी बैठकले अध्यादेश र संसद् आह्वानको माग गरेको निवेदन फिर्ता गर्ने निर्णय गरेको छ । बाँकी प्रस्तावबारे समग्र परिस्थितिलाई ध्यानमा राखी सकारात्मक ढंगले ५ गतेदेखि छलफल हुनेछ ।
यस्तै स्थायी कमिटीको अर्को बैठक ५ पुसमा बस्ने निर्णय गरिएको छ । ५ पुसमा बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक अब १० पुसमा बस्ने निर्णय भएको छ । बुधबार १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिला गरी सुरु भएको थियो । त्यसअघि प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको छ । सुरुमा अध्यक्षद्वय ओली र दाहालबीच ‘वान टु वान’ छलफल भएको थियो ।
दोस्रो चरणको छलफलमा अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, कृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुसाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलको सहभागितामा ओली र दाहालबीच छलफल भएको थियो । बालुवाटारमा छलफल हुनुअघि बुधबार बिहान खुमलटारमा अध्यक्ष दाहाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलबीच छलफल भएको थियो ।
अध्यक्षद्वय ओली र दाहालबीच चार बुँदे सहमति भएपछि स्थायी कमिटी बैठकमा ओली सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने, संसद्को विशेष अधिवेशन बोलाउने प्रस्ताव दर्ता नगर्ने, दुवै अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिने र स्थायी कमिटीको आगामी बैठकमा अध्यक्षद्वयले संयुक्त प्रस्ताव पेस गर्ने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । सुभाष साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अध्यादेश ल्याएपछि उत्कर्षमा पुगेको नेकपाको विवाद बुधबार केही मत्थर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्