Techie IT
बुधबार, चैत्र १२,२०८१

लेटाङका राजेन्द्र न्यौपाने नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक


नोबेल मेडिकल कलेजका प्रबन्ध निर्देशक, शक्तिकेन्द्रको आडमा मनपरी गर्ने लाइसेन्स पाएको ‘उदण्ड’ मेडिकल कलेज सञ्चालकका रूपमा देशभरी नै डा. सुनिल शर्माका नाम चर्चित छ ।

विराटनगरमा नेपाली कांग्रेससँग नजिकको सम्बन्ध बनाएका शर्माले कोइरालानिवासमा पाएको बास नै मेडिकल कलेजमार्फत कमाएको विख्यातको कारण बन्यो । उनले बासमात्र होइन तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालालाई मोटरसाइकलमा राखेर भारत पुराएवापत ‘स्याव्वास’ पनि पाए । भयंकर महत्वकांक्षा पालेका शर्माले सुजातालाई गरेको सहयोगको मूल्य नोबेल मेडिकल कलेजको सम्बन्धसँग साटे । गिरीजाले उक्त सम्बन्धन तत्काल दिन लगाए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा सत्ता हातमा लिएपछि राजाको कदमबारे विदेशीसँग कुरा गर्न सुजातालाई स्थलमार्ग हुँदै भारत पुराउन शर्माको सहयोग थियो ।

विराटनगरका डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, रविन दाहाललगायतको समूह नोबेल मेडिकल कलेज सञ्चालन तयारीमा थिए । कलेजका लागि भौतिक पूर्वाधार र टिचिङ फ्याकल्टी व्यवस्था गरेपछि उनीहरूले सम्बन्धनका लागि काठमाडौं विश्वविद्यालयमा आवेदन दिए । सम्बन्ध नमिलिरहेका बेला शर्मा भेट भए । सम्बन्धन दिलाएवापत ५ प्रतिशत सेयरको बार्गेनिङ गरेका सुनिल शर्मा अहिले त्यसका मालिक हुन् ।

स्थापनाकालमा डा. गिरी अध्यक्ष रहेको नोबेल अस्पतालमा २८ करोड लगानी थियो । मेडिकल कलेजले सम्बन्धन पाएपछि शर्माले २०६२–६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएपछि यसका नेतालाई समेत प्रलोभनमा पारेर शर्माले मेडिकल कलेज हडप्ने रणनीति अपनाए ।

त्यसबेलाका शर्माका एक सहयोगी भन्छन्,‘मास्टर माइन्ड त नभनौं, क्रिमिनल माइन्ड भएका व्यक्ति हुन् । कसलाई कहाँ कसरी सिध्याउने भन्ने उनको बलियो रणनीति हुन्छ ।’ उनका अनुसार महादेवको सेवा गरेवापत रावणले पार्वती मागेजसरी नै मेडिकल कलेज हत्याउन शर्मा सफल भएका हुन् । अहिले देखिने विवादहरू साम्य पार्नका लागि पनि उनले शक्तिकेन्द्रको दबाब र भरोसा दुवै हातमा लिएका छन् । कतिपयले नोबेलमा माओवादीको रकम लगानी भएको पनि बताउने गरेका छन् ।

तत्कालिन माओवादी नेता हरिबोल गजुरेलमार्फत् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको उपस्थितिमा वर्षमान पुन, सुनील र नोबेलका अन्य साझेदार राखेर दाहाल निवासमा छलफलका लागि विराटनगरबाट काठमाडौं आउँदै गर्दा एयरपोर्ट छेउबाट २०६४ मंसिर १८ गते डा. गिरी, पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलाई शर्माले वाइसिएलका तत्कालीन इन्चार्ज चन्द्रबहादुर थापा (सागर) को निर्देशनमा अपहरण गरी काभ्रेको बल्थलीमा पु¥याएर २७ घन्टापछि मुक्त गरे ।

‘नोबेलमा त्यसबेला माओवादीले देखाएको चासोका कारण पनि शर्माले माओवादीको रकम लगानी गरेको हुनसक्ने अनुमान गरिएको हो’, स्रोतले भन्यो,‘नत्र नोबेल मेडिकल कलेजकै विषयमा मात्र माओवादी किन हेडक्वार्टरमा बैठक बस्न तयार भयो ?’

सुरुका लगानीकर्ता डा. गिरी र पाण्डेलाई नोबेलबाट हटाएपछि शर्माले साझेदारका रूपमा विराट अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई भित्राएर ५० प्रतिशत सेयर दिए । पाँच प्रतिशत सेयरबाट नोबेल छिरेका शर्मा २०६५ सम्म ५० प्रतिशत शेयरधनी मात्र होइन, नोबेललाई एकलौटी पकडमा लिन सफल भए । डा. कार्कीसँग उनको साझेदारी लामो समय टिकेन । कार्की पनि किक आउट भए । कार्कीले अहिले बिराट मेडिकल कलेजको सम्बन्धनलाई पर्खिरहेका छन् । बिराट नर्सिङ होम, बिराट हेल्थ कलेज कार्कीले चलाइरहेका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका प्रिय भएका कारणले पनि शर्माले गएको प्रतिनिधि सभा निर्वाचनमा मोरङ–३ मा टिकट पाएका थिए । कांग्रेस आवरणको राजनीति गरे पनि शर्माको पूर्वमाओवादी नेताहरूसँगको उठबस बलियो रहँदै आएको छ ।

माओवादी भुमिगत भएको बेला कोइराला र बर्षमान पुनःको भेट नयाँ दिल्लीमा गराएको ‘जस’ उनले लिने पनि गरेका छन् । शक्ति केन्द्रको आडमा मेडिकल कलेज हत्याएका शर्माले राम्रो स्वास्थ्य शिक्षा र गतिलो उपचार भने दिन सकेका छैनन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545