Techie IT
आईतबार, माघ ६,२०८१

चितवन प्रहरीमा घलानको आतंक


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यारर्त दुई जना प्रहरी अधिकृतकै कारण सिंगो संगठन नै बदनाम बन्दै गएको छ । कर्मचारी प्रशासन फाँटमा कार्यारर्त सई लालबहादुर घलान र सुवेदार मेजर कृष्ण प्रसाद सिलवालको आतंक मच्चिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार सई घलानको ज्यादत्ती र उपद्रोले चितवनमा प्रहरी जवानदेखी प्रहरी निरीक्षकसम्मका प्रहरी कर्मचारीहरु हैरान छन् ।

ईलाका प्रहरी कायालय माडीको लेखापालमा कार्यारर्त रहेका घलानलाई चितवनका तत्कालीन प्रहरी प्रमुख (एसपी) दिपक थापाले जिल्ला तानेका थिए । थापाको कार्यकालमा प्रशासन फाँटमा प्रहरी निरीक्षक जयनारायण यादव र सई झलक श्रेष्ठ रहे पनि निरीक्षक यादवको अनिवार्य अवकाश र सई श्रेष्ठको राजीनामा पछि घलानले प्रशासनको प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

घलानले त्यहाँको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रमुखहरुसँगको साँठगाठमा आफुसँग कुरा नमिल्ने कर्मचारीलाई अन्यत्र लखेट्ने, खेदाउने र पेल्ने काम गर्दै आएको छ । उमेर नपुग्दै नागरिकतामा मात्रै उमेर बढाएर प्रहरी सेवामा भर्ना भएका सई घलानले एसपीलाई हातमा लिएको छु, मैले जे जे भने, जे जे गरे त्यहीं त्यहीं हुन्छ भन्दै हिंड्ने र सिन्डिकेट नै चलाउने गरेका छन् ।

सई घलानले हवल्दारदेखि सई इन्चार्ज हुने प्रत्यक मातहत रहेका युनिटक इन्चार्जहरू जो एसपी गुरुङसँग नजिक छन्, तिनलाई डिएसपी सुर्य बहादुर थापाले परिवर्तन गर्न लागेको र अर्को व्यक्ति खोज भनेको भन्दै आर्थिक फाइदा लिने गर्छन् भने जो डिएसपीका नजिक छन्, त्यस्ता युनिटका इन्चार्जलाई एसपी गुरुङले परिवर्तन गर्न खोजेको र अर्को मान्छे खोज भनेको भन्दै आर्थिक फाइदा लिने गरेका छन् ।

हाकिमलाइ नचाउँदै आएको छु भन्दै आएका घलानले आफूले जे भन्यो त्यहीं हुन्छ भन्दै आफ्नै समकक्षी र सानो दर्जाका कर्मचारी लाई समेेेत भन्ने गरेका छन् । वास्तविक पिडित र स्वयं कार्यालयका अन्य प्रहरी कर्मचारीले बारम्बार निजका बिरुद्व रिपोर्टिङ गरेको भए पनि यहाँ सुन्ने काम गरिएन, एक प्रहरी भन्छन् : चेन अफ कमान्ड अनुसार प्रहरी कर्मचारीका बिरुद्व हाकिम साबलाई नै हामीले गुनासो गरेका थियौं । तर, हाकिम साबले नै यहाँ सबै कुरा घलानको मात्रै बिश्वास गर्ने र अन्यको कुरालाइ समेत खासै चासो दिनु हुँदैन ।

स्रोतका अनुसार लामो समयदेखी आफू निकटकालाई इन्चार्ज दिने कार्यमा संलग्न रहेेेका सई घलानले सुवेदार मेजर सिलवाल सँग मिलेर बिदा स्वीकृत गर्दा समेत रिचार्ज कार्ड माग्ने, नदिने लाई बिदाको सिफारिश नै नगर्ने, बिदा गएर ढिलो आउनेसँग रिचार्जकार्ड र कोशेलीपात माग्ने, दिए जति ढिलो आएपनि कार्वाही प्रक्रियालाई अगाडि नबढाउने, नदिए कार्वाहीलाइ अगाडि बढाउने, पालैपालो मातहतको विभिन्न युनिट गई मापसे गर्न लगाउने, तेल र मोबाइलमा रिचार्ज कार्ड हाल्न लगाउने, व्याडमिन्टनको कर्क, स्पोर्टसुज र ट्र्याकसुट र आफ्नो पोशाक समेत किन्न लगाउने गरेका छन् ।

त्यस्तै, आफ्ना परिवारका सदस्यहरूको कपडासमेत विभागका टेलर मास्टरसँग नि:शुल्क रूपमा सिलाउन लगाउने समेत गर्दै आएको स्रोतले बताएको छ । स्रोत भन्छ : कप्रमा बसेकै कारण शक्तिको प्रयोग गरी आफ्ना व्याजी भन्दाअघि हवल्दार र असईमा बढुवा भई लेखा सहायकलाई समेत थाहै नदिई लेखा तालिम गरी सर्लाही तथा चितवन माडीमा लेखापाल भई घलान सईमा बढुवा भएका हुन् । उनीहरुको मकवानपुर जिप्रका, चितवन जिप्रका र प्रदेश प्रहरीको कप्र शाखामा सेटिङ नै हुने गरेको छ । को कहाँ, कसलाई पठाउने र राख्ने सेटिङ उनीहरुको हुने गरेको छ ?

मातहतका युनिटहरूबाट नाजायज फाइदा लिने गरेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयले बागमती प्रदेश प्रहरी कार्यालयलाई गत साउनमा पठाएको पत्र र छानबिनका क्रम्मा झुठा र तथ्यहिन प्रतिवेदन बनाउन लगाएका थिए । उनका बिरुद्व बारम्बार उजुरी परेपछि उजुरी छानबिन शाखाले आवश्यक अनुसन्धानका लागी बागमती प्रदेश प्रहरी कार्यालयमा लेखेर पठाएको जनाएको छ । स्रोतका अनुसार धेरै नै उजुरी आएपछि, हामीले चितवनको प्रशासनमा रहेका सबैको तीन पुस्ते अभिलेखिकरण माग गरेका छौं, प्रहरी मुख्यालयका एक प्रहरी अधिकृतले सत्यतथ्य छानबिन गरेर नतिजा जाहेर गर्न कडाइका साथ प्रदेशलाई निर्देशन दिएको बताए । प्रदेशको पनि अधिकार हुने भएकोले हामीले प्रदेशलाई छानबिनका लागी निर्देशन दिएका छौं, त्यहाँबाट प्राप्त भएका नतिजालाई हामी अध्ययन गर्छौं, त्यसपछि थप निर्णय लिन्छौं । हामीले पनि निजमाथि थप अनुसन्धान गरिरहेका छौं, आवश्यक परे तान्न पनि सक्छौं, हामी आफैं पनि खटिन सक्छौं ।

को हुन सई घलान ?
प्रहरी नियमावली अनुसार प्रहरी कर्मचारी प्रशासन शाखा अर्थात् (कप्र) मा प्रहरी निरीक्षक हुने भएपनि सई घलान लामो समय देखी सोही फाँटमा कार्यारर्त रहन सफल भएका एक भाग्यमानी प्रहरी अधिकृत हुन् । हेटौंडा घर भई चितवनको कप्रमा विगत ४ बर्षदेखि एकछत्र राज गर्दै आएका घलानले बिशेष गरी गाँउले र लाभ दिनेहरुलाई चौंकीको ईन्चार्ज दिने गरेको पाइएको छ ।
आफूसँग दुश्मनी भएका, आफूलाई नहेर्ने प्रहरी कर्मचारीलाई त उनले गन्दैनन् । विशेषगरी आफू नजिक, आफ्नु गाउँले अर्थात मकवानपुर घर भएका र आफ्नु जात भए अनुसारको प्रहरीलाई मात्रै उनले चौकी पठाउने र लाभ लिने गर्दै आएका छन् ।

घलानले सुवेदर मेजर सिलवालसँग मिलेर मातहतका सबै प्रहरी लाई खेलाउने गरेका छन् । हुँदै नभएको कुरा लगाई तान्ने र थन्क्याउने अनि विकट ठाउँमा फाल्ने देखी दरबन्दीसम्म खेदाउने काम उनैले गर्दै आएका छन् । चितवनमा अहिले झण्डै ६२ वटा मातहतका युनिटहरु रहेका छन् । ती सबै युनिटमा एसपीको नाममा चौकी इन्चार्जबाट रकम अशुल्ने र चौकीका प्रत्यक सिपाही हवल्दारलाई टेलिफोन नै गरेर अनावश्यक दु:ख दिदै आएका छन् ।

उदाहरणस्वरुप गत, भाद्र महिनामा लामो समयदेखी कार्यारर्त रहेका प्रहरी कर्मचारीलाई अदलीबदली गर्नुपर्ने भन्दै ठूलो संख्यामा प्रहरी कर्मचारीलाई फेरबदल गरे पनि सबै उनी निकटतालाई मात्रै पठाएको छ । प्रहरी हवल्दार बस्ने पोस्टमा सई तथा सई बस्ने ठाउँमा हवल्दारलाई पठाएको छ । सानो अस्थायी पोस्टमा त उनले आफ्नु कब्जा नै लिने गरेको स्रोतको भनाइ छ ।

सोही अदली बदलीकै क्रम्मा चितवनका प्रहरी प्रमुखले उनलाई मातहतको कुनै एक चौकीमा इन्चार्ज भएर जान भने पनि उनले नमानेको र कप्रमै बसेको बताए । उनी भन्छन् : एसपी साबले घलानलाइ इन्चार्ज बनाएर मातहत पठाउने पक्षमा रहे पनि उनी मानेनन् । उनले कप्रमा नै बसेर जिल्ला चलाउन पाइरहेका छन् भने मातहत किन जान्थे र ?

को – कहाँ ?
प्रशासनमा समेत घलानको रजगजी छ । प्रशासनमा हाल सई लालबहादुर घलानको कमान्डमा प्रहरी हवल्दारद्वय अशोकसिंह मोक्तान, भिमराज पाख्रीन, प्रहरी जवान रमेश कुमार आले मगर लगायत अन्य ८ जना प्रहरी कार्यारर्त छन् । उनीहरु सबैको हेड्क्वाटरले अभिलेखिकरण समेत मागेको छ । त्यस्तै, प्रशासनमा मात्रै होइन हवल्दार मेजर, चमेना गृह र कोटमास्टरमा समेत उनको रजगजी छ ।

विशेष गरेर गुरुङ, तामाङ, राइलाई विशेष ग्राह्रयतामा राख्दै आएका उनले क्षेत्री, बाहुनलाई समेत टेर्दैनन् । हवल्दार मेजरमा यमलाल मोक्तानलाई जिम्मेवारी दिईएको छ । कोटमास्टरमा पनि आफ्नै जात अनुसारको हवल्दारलाई खटाएका छन् त्यहाँ यसअघिका एसपी दिपक थापा पालामा असई केश बहादुर दर्जी थिए । चमेनागृहमा हवल्दार दिपक राउत (दम्पत्ती) लाई हटाइ हवल्दार गणेश थापा मगरको दम्पत्तीलाई राखेको छ । हेटौंडा माइती रहेका उनका श्रीमती जवान संगिता सुँयाल मगर आफ्नु गाउँले नै भएकोले चमेना गृहमा पठाएको छ ।

त्यस्तै, सामुदायिक सेवा केन्द्रमा प्रहरी जवान शान्ती आले, पर्यटक प्रहरी पटिहानीमा असई जीत बहादुर तामाङ, प्रहरी बिट जीरौनामा हवल्दार राज कुमार घले, प्रहरी बिट कल्याणपुरमा हवल्दार आश बहादुर गुरुङ, अस्थायी प्रहरी पोस्ट गणेशस्थानमा हवल्दार रामबहादुर गुरुङ, माओवादी पार्टी कार्यालयमा हवल्दार रामबहादुर घलान, अस्थायी प्रहरी पोस्ट ज्योतिनगरमा हवल्दार ठान बहादुर राईलाई पठाइएको जनाएको छ ।

त्यस्तै, उनै सई घलानले शान्तिचोक बिटमा हवल्दार घनश्याम ल्होलाई पठाएको थियो । यद्यपी, हवल्दार ल्हो बिवादित भएपछि इलाका प्रहरी कार्यालय रत्ननगर तानिसकेका छन् । उनको ठाउँमा अर्जुन गुरुङलाइ पठाइएको छ । उता, जुट्पानी प्रहरी चौकीमा सई गगन शाहीलाई जिल्ला कारागार भरतपुरमा फालेर धादिङ्ग घर भएका सई युवराज पाण्ड्डेलाई पठाएको छ । पाण्डेको दरबन्दी इलाका प्रहरी कार्यालय खैरहनी हो । पाण्डे खैरहनीमा आठ महिना मात्रै बसेर इन्चार्जको रुपमा जुट्पानी गएका हुन् । एसपी गुरुङलाई हुँदै नभएको कुरा लगाएर तथा उचालेर सइ गगन शाहीलाई घलानले कारागार फालेको स्रोतले जनाएको छ ।

त्यस्तै, उनले हवल्दार सन्जु रासथला र असई हुसन काजी राई लाई दरबन्दीमा रवाना नगराइ इलाका प्रहरी कार्यालय रत्ननगरमा रहेको प्रशासनको जिम्मेवारी दिएको छ । असई राईंंमाथी रत्ननगर नगरपालिकाको गाडीमा राप्ती नगरपालिकामा पुगेर गाँजा ओसारपसार गरेको र बिवाद उत्पन्न भएपछि भण्डारा चौकीको गाडी र नगरपालिकाको गाडी तोडफोड हुनुका साथै फायरिङ नै गर्नुपर्ने अवस्था सृजना भएको थियो । तर, उक्त घट्नालाई अहिले त्यसै सामसुम पारेको छ ।

त्यस्तै, हवल्दारको कमान्डमा तीन जना प्रहरी जवान रहेको खोलेसिमल प्रहरी चौकीमा सई शालिग्राम शर्मा पौडेललाई पठाइएको छ । पौडेलको दरबन्दी इलाका प्रहरी कार्यालय गैंडाकोट हो । असईमा उक्त चौकीमा कार्यारर्त उनी सइ बढुवा पछि पनि दरबन्दीमा नगई त्यहीं थमौती भएका छन् । उनले समेत कप्रमा मिलाइएको स्रोतको दाबी छ ।

बदनाम प्रहरीलाई घुमुवामा राख्ने चलखेल
जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान शाखा अर्थात (घुमुवा प्रहरी) नेतृत्व विहिन भएको आज १० दिन पूरा भयो । सो स्थानमा रहेका यसअघिका असई सिताराम खतिवडालाई प्रहरी चौकी पदमपुर पठाएसँगै उनको ठाउँमा खाली रहेको घुमुवा इन्चार्जमा घलानले आफ्नो स्वइच्छामा टाँडीबाट लखटेका असई भुवन अर्याललाई राख्न अनेक चलखेल गरिरहेका छन् ।

एक प्रहरी अधिकृतका अनुसार इलाका प्रहरी कार्यालय रत्ननगरको घुमुवा रहेका असई भुवन अर्यालले लागूऔंषध कारोबारीबाट रकम असुली गर्ने गरेको आंशकामा तत्कालीन एसपी दान बहादुर मल्लले कारागारमा लगेर थन्क्याएका थिए । कारागार पुगेका अर्यालले कारागारबाट नै आफू पनि जिल्लाको घुमुवा बन्दै छु भनी सार्बजनिक रुपमै भन्दै आएका थिए । बिवादित सई घलानको सिफारिसमा अर्याल घुमुवामा खटिने लगभग पक्कापक्की जस्तै भएको स्रोतको भनाई छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #सइ #लालबहादुरघलान # प्रशासन #एसपी #नेपालप्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Sunny
6:53 am5:35 pm +0545