पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ, ५ साउन । सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन । असार १ गतेअघि पशुपति परिसरमा पनि भक्तजनको आवागमन रोकिएको थियो । असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए ।
आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरे । मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था आज बिहान देखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार धेरै भक्तजनले मास्कसमेत लगाएका थिएनन् । पशुपति क्षेत्रका अन्य शिवालयमा पूजा आराधना एवं दर्शन गर्न भक्तजन आतुर देखिन्थे ।
साउने झरी भए पनि बिहानै भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिर नखुले पनि बाहिरबाटै दर्शन गरेर फर्किएको ललितपुर, कुपण्डोलबाट आउनुभएका दर्शनार्थी पार्वती राउतले बताउनुभयो । साउनमा मन्दिरभित्रै गएर दर्शन गर्न पाए हुने भन्ने चाहनाले आफू पशुपति पुगेको उहाँको भनाइ थियो । मूल मन्दिरभित्र गएर दर्शनका लागि खुला गर्न सरकारले गर्ने निर्णयमा भर पर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकाल बताउनुहुन्छ । सरकारले मन्दिर क्षेत्र खुला गरे भक्तजनलाई सुरक्षा विधि अपनाएर दर्शन गराउने गरी तयारी भइसकेको उहाँले जानकारी दिनुभयो ।
राजधानीका मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन दर्शन गर्न पुगेका थिए । गोकर्णेश्वरमा बालयन्त्र गोकर्णेश्वरमा साउनदेखि नै परम्परानुसार बाजासहित पूजा र आरती पुनः शुरु भएको छ । गोकर्णेश्वर महादेवको गुठीका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा रैकर भएपछि यो परम्परा टुटेको थियो ।
गोकर्णेश्वर नगरपालिकाले रु ७५ लाख अक्षय कोष स्थापना गरी यो परम्परालाई पुनःस्थापना गरेको हो । पशुपतिनाथ र गोकर्णेश्वरमा विगतमा एकै प्रकारले पूजाराधना गर्ने गरिए पनि गुठी मासिएसँगै त्यो परम्परा हराएकाले हाल गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले खोजबिन अघि बढाएको अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्र पूजााराधना हुन्छ । दुवैको एकापसमा सम्बन्ध छ ।
नगरपालिका वडा नं ४ को अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर मन्दिर प्रबन्ध समितिका अध्यक्ष श्रेष्ठका अनुसार गुठी रैकर गर्दा पूजा चलाउन छुट्याइएको स्रोत कहाँ छ भनी गुठी संस्थान काठमाडौँ शाखालाई पत्राचार गरिएको छ । जग्गा रैकर गर्दा मोहीले राखेको रकमको ७० प्रतिशत मन्दिरको परम्परा चलाउन दिनुपर्नेमा त्यस्तो हुन नसकेको उहाँले जानकारी दिनुभयो । साउने सोमबार व्रत शुरु धेरै वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार व्रत बसेर देवाधिदेव महादेवको पूजाराधना गर्छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउनुहुन्छ । परम्परानुसार कुनै कुलविशेषले चान्द्रमासअनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार सोमबार परेका छन् । नयाँ व्रत पाँच सोमबार परेको वर्षदेखि शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
शास्त्रीय मान्यतानुसार चार सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् । साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने ‘शिवपुराण’लगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिलापुरुष दुवैले यो व्रत गर्न सक्छन् ।
प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् । आजदेखि साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापन गर्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउन भक्तजनको भीड लाग्छद्ध । वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाका कारण त्यससमेत प्रभावित हुने भएको छ ।
भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा नगर्ने घोषणा गरिसकेका छन् । धेरै नेपालीले वर्षमा एकपटक साउनमा घरमा वैदिक रुद्राभिषेकसमेत गर्छन् । साउनमा नभ्याउनेले अनुकूलतानुसारको महिनामा गर्ने परम्परासमेत छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पशुपति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्