पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् ।
लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् । चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो ।
तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् । विपद्को जोखिममा तातोपानी क्षेत्र तातोपानी क्षेत्र विपद्को उच्च जोखिममा पर्दछ ।
चीनसँगको व्यापारिक नाका तातोपानीमा बाढी, पहिरो, सुक्खा पहिरो र ढुङ्गा खस्नेजस्ता समस्याका कारण स्थानीयवासीलाई त्रसित बनाउने गरेको छ । बाह्रबिसेको खोर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्तीे दुई पहाडबीचबाट बग्ने भोटेकोशी नदीको किनारमा पर्दछ । भोटेकोशी र ठाडोखोलाको बाढी र पहिरोले कच्ची घरहरु पुरै भत्किएका छन् । बाढी, पहिरोको समस्या मात्रै होइन, भीरबाट खस्ने ठूलाठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ । यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिल्यै पनि त्रास नहटेको गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठले बताउनुभयो । वर्षातमा हुने पहिरोको जोखिम त छँदैछ, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ । पानी पर्नेबित्तिकै भोटेकोशी नदीमा आउने बाढीको डर एकतिर छ भने वर्षाकै कारण मुख्य सडक पनि भास्सिएका छन् ।
ठूला दुई पहाडबीच बग्ने नदी छेउको बसाइ त्रासपूर्ण भएको स्थानीय निङ्मा शेर्पा बताउनुहुन्छ । गाउँपालिकाको तातोपानी क्षेत्रका प्राय सबै बस्तीहरु खोला र पहिरोको उच्च जोखिममा छन् । अति जोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । विपद्को अवस्था हेरेर जिल्ला विपद् व्यवस्थापन समितिले पनि काम गरिरहेको छ । बाढी, पहिरो र पानीबाट पर्ने समस्याका साथै कोरोना भाइरसलाई समेत समेटेर समितिले पूर्व तयारीको काम गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
उहाँले अति जोखिममा रहेका लार्चा खोला आसपासका बस्तीहरुमा विज्ञको टोलीले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्ष अनुसार अगाडि बढ्ने बताउनुभयो । विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको भोटेकोशी क्षेत्रमा हुने समस्या सामाधान गरिनुपर्ने स्थानीयवासीको माग छ तर हालसम्म जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुन सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #पहिरो खसेपछि तातोपानी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्