सोती घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, अझै एक बेपत्ता
जाजरकोट, १५ जेठ (रासस) ः सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको भेरी नगरपालिकाको कालाभुर नजिक शव फेला परेको छ । योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिनुभयो । बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो ।
गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न कठिन भएको गोताखोरले जनाएको छ ।
अन्तर्जातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो । घटना भएको पाँच दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशङ्कामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शङ्कास्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरीका प्रमुख बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ ।
नदी पनि निकै धमिलो छ । पानीभित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको छ ।” अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरैबेर डुबेर पानीभित्र अड्किएको वस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाइ रहेको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जनभन्दा बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको उहाँले बताउनुभयो ।
हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयोे । बेपत्ताहरु नदीमा डुबेको हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सोती घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्