फाेरम र नयाँ शक्तिबीच पार्टी एकताकाे लागि भएका सहमतिकाे पूर्णपाठ

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकता भएको छ । सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै पार्टी एकता गरिएको हो ।
पार्टी एकता घोषणा सभा दुई पार्टीबीच ९ बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएको छ । पार्टी एकताका आधारहरू भन्दै सार्वजनिक गरिएको सहमतिको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ ।
१) नेपालको राजनीतिक क्षितिजमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित संघीय समाजवादी फोरम, नेपाल र संविधान घोषणापश्चात् प्रगतिशील लोकतान्त्रिक शक्तिको रूपमा स्थापित नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण गरी समाजवादी पार्टी, नेपाल स्थापना गरिएको छ । यस अवसरमा हामी नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यस क्रममा बेपत्ता, घाइते, काराबास तथा शहीद परिवारलगायतका योगदान सबैप्रति उच्च सम्मान प्रकट गर्दछौं ।
२) समाजवादी पार्टी, नेपालको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्नु हुनेछ । यसका लागि जनसंघर्ष र संविधान संशोधनमार्फत् देशको प्रगतिशील रुपान्तरण, दीगो विकास र समतामूलक समृद्धिको बाटोमा अगाडी बढ्ने छ । हाम्रो लक्ष्य नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध, संघीय गणतन्त्रात्मक राज्यवस्था स्थापित गर्नु हुनेछ ।
३) संघीय समाजवादी फोरम, नेपालले अवलम्बन गरिआएको संघीय समाजवाद र नयाँ शक्ति पार्टी, नेपालले अवलम्बन गर्दै आएको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्त अगाडि सारेका छौँ । विश्वमा संघीयता र समाजवादका विभिन्न प्रारुपहरू छन् । यसलाई नेपाली समाजको विशिष्ट स्थिति, जनताको चेतना र विचारधारात्मक तथा सांस्कृतिक स्तरको उन्नयनसँगै समुन्नत गर्दै लगिने भएकाले समुन्नत संघीय समाजवाद भनिएको छ ।
४) उपयुक्त सैद्धान्तिक–वैचारिक मान्यताको आधारमा यसले राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुल्ला समाज, बालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका साश्वत मूल्य र मान्यताहरू सबै आत्मसात गर्नेछ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाइनेछ ।
त्यसको अलावा यस कार्यक्रमका मौलिक विशेषताहरू निम्नानुसार हुनेछन् – १) राष्ट्रिय स्वाधीनता, २) संघीय शासन, ३) समाजवादी व्यवस्था, ४) सहभागितामूलक समावेशी लोकतन्त्र, ५) राष्ट्रिय पहिचान, ६) सामाजिक न्याय, ७) समतामूलक समृद्धि, ८) लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षा, ९) सुशासन र सदाचार, १०) समानुपातिक समावेशीकरण, ११) स्वशासन तथा स्वायत्तता, १२) सांस्कृतिक बहुलता, १३) समानुपातिक निर्वाचन प्रणाली, १४) पर्यावरणीय सन्तुलन र १५) बहुलतायुक्त समाज र राष्ट्रिय एकता ।
५) हामी नेपाललाई साँचो अर्थमा संघीय राज्य बनाउन प्रतिबद्ध छौं । यसका निम्ति संविधानद्वारा गठित राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १०+१ प्रदेशहरूको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।
६) नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रि समुदायहरू मधेशी, आदीवासी, जनजाती, शिल्पी/दलित, खस, मुस्लिम, थारु, महिलालगायतको राष्ट्रिय सवालहरू सम्बोधन गर्न पार्टी प्रतिबद्ध छ । नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय असमानता र विभेद अन्त्य गरी स्वतन्त्रता, समानता, सामाजिक न्याय र सामाजिक सुरक्षासहितको समाज व्यवस्था निर्माण गरिनेछ ।
७) नेपालमा विद्यमान पिछडिएको उत्पादन सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिनेछ । समतामुलक समृद्धि, समन्यायिक वितरण, दिगो विकास र मानवीय खुशी समृद्धिका आयाम हुनेछन् । देशमा विद्यमान चरम भ्रष्टाचार, आर्थिक अनियमितता, अपारदर्शिता र लुटतन्त्रको समूल अन्त्य गर्दै राज्य व्यवस्था स्थापना गरिनेछ । कर्मचारी तन्त्रको पुनर्गठन र सम्बद्ध संवैधानिक निकायहरूको सवलीकरण गरिनेछ ।
८) संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल आजकै मितिदेखि विघटन गरी समाजवादी पार्टी, नेपाल घोषणा गरेका छौँ । यसलाई दल दर्ता सम्बन्धी ऐनबमोजिम निर्वाचना आयोगमा दर्ता गरिनेछ ।
९) यो एकीकरणबाट नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ बृहत राजनीतिक ध्रुवीकरण अत्यावश्यक छ । अतः नयाँ राजनीतिक शक्ति निर्माणको यस महान् अभियानमा सामेल हुन सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादी शक्ति, समूह, व्यक्ति–व्यक्तिहरूमा हार्दिक आह्वान गर्दछौं ।
उपेन्द्र यादव डा. बाबुराम भट्टराई
अध्यक्ष, संघीय समाजवादी फोरम, नेपाल संयोजक, नयाँ शक्ति पार्टी, नेपाल
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #फाेरम र नयाँ शक्ति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्