राजनीतिक संकटबीच ओलीको ६ बुँदे ‘मार्गचित्र’ सार्वजनिक ,जेनजी आन्दोलन’लाई सम्मान , पुन:प्रधानमन्त्रीमा दावी नगर्ने घोषणा
काठमाडौँ — देशमा बढ्दो राजनीतिक तनाव, संसद् सञ्चालनमा देखिएको अवरोध, जेनजी आन्दोलनको प्रभाव र सरकार सञ्चालनका विवादबीच नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाधानका लागि विस्तृत ‘मार्गचित्र’ सार्वजनिक गरेका छन्।
ओलीले आफ्नो प्रस्तावलाई संविधान र लोकतान्त्रिक अभ्यासलाई पुनः सुदृढ गर्ने साझा पहलका रूपमा व्याख्या गर्दै मुलुकलाई हालको गतिरोधबाट निकाल्न व्यावहारिक र निष्पक्ष कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। एमालेका नेता विष्णु रिजालका अनुसार ओलीले प्रस्तुत गरेको योजना ६ बुँदामा आधारित छ।
पहिलो बुँदा: ओलीले असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनलाई उल्ट्याएर पुनः स्थापना गर्नुपर्ने माग गरेका छन्। उनका अनुसार संसद् जनताको प्रतिनिधि संस्था भएकाले यसको विघटनले संविधानको आत्मामा ठेस पुर्याएको छ। संसद् पुनःस्थापना बिना देश लोकतान्त्रिक बाटोमा फर्किन नसक्ने उनीहरूको ठम्याइ छ।
दोस्रो बुँदा: उनले संविधान संशोधनमार्फत संसद् सदस्य नभएको व्यक्तिलाई पनि राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गर्न सकिने व्यवस्था गर्न सुझाव दिएका छन्। ओलीका अनुसार चुनावी सरकार गठनका बेला राजनीतिक सहमतिका आधारमा गैरसांसद व्यक्तिले नेतृत्व लिन सक्ने विकल्प अहिलेको सन्दर्भमा उपयोगी हुन सक्छ।
तेस्रो बुँदा: ओलीले आफूलाई हटाउने क्रममा उठेको ‘जेनजी आन्दोलन’प्रति सम्मान जनाउँदै पुनः प्रधानमन्त्री बन्ने दाबी नगर्ने घोषणा गरेका छन्। देशको स्थायित्व र सहमतिको हितका लागि आफू पछाडि हट्न तयार रहेको सन्देश उनले दिएका छन्।
चौथो बुँदा: उनले जेनजी आन्दोलनसहित सबै पक्षको सहभागितामा सर्वदलीय वा सर्वपक्षीय सरकार गठन गर्ने प्रस्ताव राखेका छन्। राजनीतिक अविश्वास र सत्ता–प्रतिस्पर्धाको वातावरणबीच साझा सरकार नै समाधानको बाटो हुन सक्ने ओलीको निष्कर्ष छ।
पाँचौँ बुँदा: यस्तो सहमतिबाट बन्ने सरकार केवल निर्वाचनमा केन्द्रित हुनेछ। तीन महिनाभित्र नयाँ प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी फागुन २१ गतेसम्म जनादेश लिन सकिने ओलीको प्रस्ताव छ।
छैटौँ बुँदा: यी सबै प्रक्रियालाई सुनिश्चित गर्न प्रमुख राजनीतिक दलबीच अग्रिम सहमति आवश्यक रहेको उनले जोड दिएका छन्। संविधान र लोकतान्त्रिक प्रणालीलाई स्वाभाविक गतिमा फर्काउन सबै दलबीच संवाद र सहकार्यको ढोका खुला राख्न उनले आह्वान गरेका छन्।
ओलीका अनुसार, उनका प्रस्ताव कुनै दलको विजय वा पराजयका लागि नभई राष्ट्रिय स्थिरता, जनविश्वास र संवैधानिक शासन पुनःस्थापनाका उद्देश्यसहित प्रस्तुत गरिएको हो। अब यो मार्गचित्रप्रति अन्य दलहरूको प्रतिक्रिया र व्यवहारिक कार्यान्वयनका सम्भावनामा नै राष्ट्रिय राजनीतिको केन्द्र रहने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #BREAING, #breaking, #ओलीको ६ बुँदे ‘मार्गचित्र’ सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्