Techie IT
शुक्रबार, चैत्र १६,२०८०

घरमा श्रीमती हुँदाहुँदै बाहिर किन ?


घरमा स्वस्थ यौन सम्बन्ध हुँदाहुँदै बाहिरतिर किन त्यस्तो आकर्षण हुन्छ ? मनोविज्ञानले यसलाई कुन रुपमा लिन्छ ?

यो मेरो आफ्नै समस्या हो । म र मेरी श्रीमतीबीच राम्रो सम्बन्ध छ । हामीले प्रेमविवाह गरेका हौं । हाम्रो यौनसम्बन्ध पनि सन्तुष्टिदायक नै छ । यति हुँदाहुँदै पनि म बाहिरतिर पनि आकर्षित हुन्छु । घरमा सबै कुरा प्राप्त हुँदा पनि किन यस्तो हन्छ ?

यसरी बाहिरी आकर्षणमा पर्नु भनेको श्रीमतीलाई धोका दिनु नै हो ? महिलामा यस किसिमको आकर्षण हुन्छ कि हुन्न ?

जवाफ : श्रीमतीसँग राम्रो सम्वन्ध नरहेको लक्षण हो

श्रीमतीसँगको यौनसम्बन्ध राम्रो हुँदाहुँदै पनि बाहिरी आकर्षणमा पर्नु सामान्यतः स्वस्थ लक्षण होइन । यस्तो किन हुन्छ भन्ने बुझ्नु महत्वपूर्ण कुरा हो ।

बाहिर यौन सम्बन्ध स्थापित हुनु वा त्यस प्रकारको सोच आउनुमा बिवाहित दम्पतीबीच सम्बन्ध कस्तो छ भन्नेमा भर पर्छ । घरमा श्रीमतीसँग सबैखाले सम्बन्ध राम्रो छ भने बाहिर सामान्य आकर्षण भए पनि यौनसम्बन्धको हदसम्म जाँदैन ।

बाहिर यौन सम्बन्ध स्थापित हुन पुग्यो र त्यसबारे श्रीमतीलाई थाहा छैन भने त्यो धोखा नै ठहरिन्छ । बाह्य सम्वन्ध कायम गरेर यौन सन्तुष्टि खोज्नु भनेको दाम्पत्य जीवनमा जुवा खेले समान हो । यस विपरीत अन्य धेरैले जस्तो श्रीमतिसँगको यौन सम्वन्धलाई भावनात्मक रुपमा पनि रोचक र रमाइलो बनाउनु बुद्विमानी हुन्छ ।

करुणा कुँवर
ओछ्यानको तनाव अर्थात ‘ट्रबल इन द बेड’ आधुनिक विश्वका कामकाजी मानिसहरुको समस्या बन्दै गएको सही हो । ओछ्यानको तनाव बढ्दै गएपछि मानिसहरु अर्को स्थायी वा अस्थायी पार्टनर खोज्नेतिर लाग्छन् । त्यसबाट अझ समस्याग्रस्त बनेर पुरानै अवस्थामा फर्किनेहरु पनि छन् । त्यसैले श्रीमतीसँगको यौन सम्वन्धलाई रमाइलो र सन्तुलित बनाउन आफूभित्रका कमजोरी पहिचान र सम्भावनाहरुको खोजी गर्नु श्रेयस्कर हुन्छ ।

हालसालै अमेरिकामा भएको यस्तै एउटा अनुसन्धानमा सहभागी तीन हजार ४०० मध्ये ९० प्रतिशतले बाहिरको यौन सम्बन्ध स्वीकार गर्न नहुने वताएका छन् । उनीहरुले त्यसलाई आफ्नो पार्टनरलाई दिएको धोका मानेका छन् । बाँकी १० प्रतिशतले अचानक हुने यस्ता सम्बन्धलाई एकपटक मात्र भए लुकाउँदा पनि फरक नपर्ने राय दिएका छन् । तर, त्यो दोहोरिए गलत हुने उनीहरुको राय छ ।

तपाईको प्रश्नमा शारीरिक वा यौन सम्बन्धको कुरा मात्र उल्लेख छ । मनोवैज्ञानिकहरु यौनसम्बन्ध र भावनात्मक सम्बन्धलाई फरक कुरा मान्छन् । यौनसम्बन्धले भावनात्मक निकटताको पनि माग गर्छ । यस विषयमा भएका अनुसन्धानहरुले यौनमा भावना पक्षले कति प्रभाव पर्छ भन्नेमा बढी चासो देखाएका छन् । अर्थात् यौन सम्बन्ध भनेको शारीरिक सम्बन्ध मात्र होइन ।

अगाडिका अनुसन्धानहरुले आफ्नो पार्टनरलाई धोका दिएर वाहिरी सम्वन्ध राख्नेमा बढी पुरुष भएको देखाएकामा पछिल्ला अध्ययनहरुले यसमा महिलाको पनि संख्या बढेको बताएका छन् । त्यस्तै, पार्टनरलार्य धोका दिनेमा विवाहितभन्दा अविवाहित बढी पाइएको छ ।

आकर्षण र वास्तविक प्रेम हुनु फरक कुरा हो । प्रेम र यौनबारे आफैले एकपटक गम्भीर भएर सोचे पार्टनरलाई धोका दिइरहेको महशुश गर्न सजिलो हुन्छ ।

एकभन्दा बढी यौन जोडी बनाउनेहरुले भावनात्मकसंगै सामाजिक जटिलता पनि निम्ताईरहेका हुन्छन् । आफ्नो पार्टनरबाहेकसंगको यौन सम्बन्धले डर, चिन्ता र ग्लानीभाव सिर्जना गर्छ । यस्तो भावनाले पार्टनरसँगको यौन सम्बन्धमा मात्र नभई दैनिक कृयाकलापमा पनि असर गर्न थाल्छ । यसको निवारण छिटो हुनु बेस हुन्छ ।

स्वस्थ जीवनका लागि यौन मनोविज्ञानका सीपबारे पनि कुरा गर्नु आवश्यक हुन्छ । सबैको आवश्यकता यौन सम्बन्धलाई किन स्वस्थ राख्नुपर्छ भनेर चर्चा हुनैपर्छ । स्वस्थ यौन सम्वन्धमा जोडीमध्ये दुवैले आनन्द महसुस गरेको हुनुपर्छ । कुनै एकजनाले दबावमा परेको महसुस गर्नु हुँदैन । एक जनालाई ईच्छा नभए अर्कोले त्यो भावनाको सम्मान गर्नुपर्छ । यस्तो समस्या र दुविधा बढेको अवस्थामा मनोचिकित्सकको परामर्श लिन उपयुक्त हुन्छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #श्रीमती


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Mist
5:56 am6:19 pm +0545